काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि अपि पावर कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मार्फत ३५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
भदौ १० गते बुधबार बिहान आएको बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले उक्त रकम सरकारको राहत कोषमा तत्काल उपलब्ध गराएको हो।
सहयोग रकम हस्तान्तरण गर्दै कम्पनीकी अध्यक्ष सिर्जना खड्काले यस रकमले प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। साथै, उद्धार कार्यपछि प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि समेत आवश्यकता अनुसार थप सहयोग गर्न कम्पनी तत्पर रहेको उनले स्पष्ट पारिन्।
बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा अन्य भौतिक संरचनामा भएको ठूलो जनधनको क्षतिप्रति अपि पावरले गहिरो दुःख व्यक्त गरेको छ। कम्पनीले विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
अपि पावरले जलविद्युत आयोजनाका कर्मचारीसहित सम्पर्कविहीन तथा बेपत्ता नागरिकहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित सरकारी निकायहरूसँग जोडदार आग्रह गरेको छ। यस्तो विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन उच्च सतर्कता अपनाउन र आ–आफ्नो क्षेत्रबाट राहत तथा उद्धारमा हातेमालो गर्न कम्पनीले सबैमा अपिल गरेको छ।
हाल अपि पावर कम्पनीले ५६ मेगावाट जलविद्युत र ६ मेगावाट सौर्य ऊर्जा गरी कुल ६२ मेगावाट विद्युत नियमित उत्पादन गरिरहेको छ। यसका साथै कम्पनीले आफ्ना एक दर्जन सहायक कम्पनीहरूमार्फत जलविद्युत, कृषि, पर्यटन तथा पूर्वाधार विकासका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ।




