काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा जनधनसँगै पशुपन्छीमा परेको क्षतिप्रति पशु सेवा विभागले दुःख व्यक्त गरेको छ।
विभागले बाढीमा परी ज्यान गुमाएका पशुपन्छीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाएको छ।
विभागले बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित विसर्जन तथा जैविक सुरक्षाको व्यवस्थापनका लागि औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको जनाएको छ।
विभागका अनुसार विपद्पछि पशुपन्छीमा देखिन सक्ने रोग तथा सम्भावित महामारी रोकथामका लागि आवश्यक समन्वय र व्यवस्थापनमा समेत जोड दिइएको छ। प्रभावित क्षेत्रमा पशुपन्छीको प्रभावकारी उद्धार तथा उपचारका साथै असहाय पशुपन्छीको आकस्मिक व्यवस्थापनमा सक्रियतापूर्वक जुट्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
पशु सेवा विभागले प्रदेश तथा स्थानीय सरकार, सुरक्षा संयन्त्र, सरकारी तथा गैरसरकारी निकाय, व्यावसायिक तथा उद्यमी समूह, पशु कल्याणसम्बन्धी संस्था, निजी पशु सेवाकर्मी र नागरिक समाजलगायत सबैलाई बाढी प्रभावित पशुपन्छीको उद्धार, उपचार र व्यवस्थापनमा सहकार्य गर्न अपिल गरेको छ।
विभागले विपद्को समयमा पशुपन्छीको संरक्षण तथा उपचारलाई प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षको समन्वय र सहयोग आवश्यक रहेको जनाएको छ।




