काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग जुटिरहेको भन्दै सरकारले सहयोग रकम सरकारले सार्वजनिक गरेको आधिकारिक खातामार्फत मात्र जम्मा गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै बाढीपीडितका नाममा विभिन्न व्यक्ति, समूह तथा संस्थाले सामाजिक सञ्जाललगायत माध्यमबाट क्यूआर कोड राखेर रकम संकलन गरिरहेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सरकारले विपद्को विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, उचित व्यवस्थापन तथा सम्भावित वित्तीय ठगी रोक्न सरकारी आधिकारिक खातामा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको हो।
कार्यालयका अनुसार सहयोग गर्न चाहनेहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा विपद उद्धारकोष नाममा रहेको सरकारी खातामार्फत रकम जम्मा गर्नुपर्नेछ। सरकारले आधिकारिक खाताबाहेक अन्य माध्यमबाट हुने रकम संकलनप्रति सचेत रहनसमेत आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी सूचनामा विपद्का बेला पीडितलाई सहयोग गर्ने सबैको भावना सम्मान गर्दै सहयोग रकम सही ठाउँमा पुग्ने सुनिश्चितताका लागि यस्तो आग्रह गरिएको उल्लेख छ।
सरकारले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न इच्छुक नागरिक तथा संघसंस्थालाई आधिकारिक माध्यम प्रयोग गर्न अपिल गरेको छ।




