रोशी गाउँपालिकाले बाढीपीडितका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने

 

काठमाडौँ । काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिकाले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

गाउँपालिकाका अनुसार विपद्बाट प्रभावित स्थानमा आफ्ना कुनै पनि नागरिक बेपत्ता वा अलपत्र परेको जानकारी प्राप्त भएमा तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ।

राहत सहयोगका लागि गाउँपालिकाका जनप्रतिनिधिहरूको सात दिन बराबरको सेवासुविधा तथा कर्मचारी र शिक्षकहरूको एक दिन बराबरको तलबबाट ९ लाख ७० हजार ७८२ रुपैयाँ संकलन गरिनेछ। त्यसमा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट २९ हजार २१८ रुपैयाँ थप गरी कुल १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले विपद्को यस घडीमा सहयोग र समन्वयका लागि सबैमा आग्रहसमेत गरेको छ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update