काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले भोटेकोशी वाढीमा परि निधन भएका तर पहिचान हुन व्यक्तिहरुका शव गाड्ने निर्णय गरेको छ ।
शवहरू सड्न थालेको र त्यसले महामारीको जोखिम बढेका कारण शनिबार पहिचान हुन नसकेका २२९ शवहरू ‘जमिन मुनि व्यवस्थापन गर्ने निर्णय’ गरेको चितवन प्रशासनले जनाएको छ। जनिमन मुनि व्यवस्थापन गर्ने भन्नुको तत्पर्य गाड्नु हो ।
प्रशासनले हालसम्म बाढीमा २३३ वटा शव संकलन भएको र तीमध्ये चार वटा शवको मात्रै पहिचान भएको जनाएको छ। पहिचान हुन नसकेका २२९ वटा शव तथा शवका अवशेष होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएको छ ।
‘होल्डिङ्ग सेन्टर र स्वास्थ्य संस्थाहरु तथा नदी तटबाट संकलन भएका शव र शवका अवशेषहरु सडेगलेका र अब पहिचान हुन/गर्न नसकिने अवस्थामा छन् । तत्कालिक व्यवस्थापकीय प्रबन्धबाट राखिएका त्यस्ता शवहरु दुर्गन्धित बन्दै गएका कारण संक्रमण/महामारी फैलिन सक्ने भन्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुको राय/विश्लेषण रहेको छ,’ जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सुचनामा उल्लेख छ ।
शवहरुको सम्मानजनक र कानुनी रुपमा व्यवस्थापन गर्न जमिन मुनि व्यवस्थापन गर्न लागिएको प्रशासनको दाबी छ ।
‘प्राप्त शवहरु थप सड्न/गल्न नदिन, त्यस्ता शवहरुको सम्मानजनक, सुरक्षित र कानूनी रुपमा व्यवस्थापन गरी सम्भावित संक्रमणको जोखिमबाट बचाउन बाध्यात्मक विकल्पको रुपमा जिल्ला सुरक्षा समिति चितवनको आज मिति २०८३।०५।१३ को निर्णयानुसार पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम सबै शवहरु जमिनमूनि व्यवस्थापन गर्ने निर्णय भएको छ,’ सुचनाम भनिएको छ ।
यसरी व्यवस्थापन गरिने सबै शवको डीएनए नमुना संकलन गरिने प्रशासनको भनाइ छ ।
‘यस निर्णय बमोजिम सबै शवहरुको डिएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राख्ने गरी आजैदेखि भरतपुर महानगरपालिका वडा नं. १ देवघाटस्थित खुला स्थानमा व्यवस्थापन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ सुचनाम भनिएको छ ।




