काठमाडौँ । प्यूठान जिल्लाको मल्लरानी गाउँपालिकाले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले दिएको जानकारी अनुसार प्राकृतिक विपद्मा परी अमूल्य जीवन गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवार, घाइते तथा प्रभावित नागरिकप्रति हार्दिक समवेदना व्यक्त गर्दै आर्थिक सहयोग पनि प्रदान गरिएको हो ।
गाउँपालिकाका अनुसार विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाको तर्फबाट ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ। साथै गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको सेवा सुविधाबाट एक दिन बराबरको रकम सहयोग गर्ने निर्णय समेत गरिएको छ।
बाढीका कारण घाइते भएकाहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गर्दै गाउँपालिकाले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच आवश्यक पहल र समन्वयका लागि आग्रह गरेको छ।
त्यसैगरी विपद् प्रभावित नागरिकका लागि तत्काल उद्धार, राहत, उपचार, अस्थायी आवास तथा आवश्यक मानवीय सहयोगलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकारका सम्बन्धित निकाय, संघसंस्था तथा सरोकारवालालाई गाउँपालिकाले अनुरोध गरेको छ।




