काठमाडौ । नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आज सेवा सुचारु गरेको छ ।
यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका नेपाल टेलिकमले जानकारी दिएको छ ।
टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ । यसका लागि आवश्यक सामग्री सवारी साधनको प्रयोग गरी तथा भरियामार्फत ढुवानी गरिएको थियो ।
रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावरमार्फत पनि सेवा सुचारु भएको छ ।
यसैगरी नुवाकोट जिल्लाको तुप्चे र बुङताङ बीटीएस पनि आजैदेखि सञ्चालनमा आएका छन् । उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो । यी वाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर समेत सुचारु भएका छन् ।
यसै बिच फिल्डमा खटिएका प्राविधिकहरुको मनोवल उच्च राख्न तथा सेवा सुचारु कार्यलाई थप प्रभावकारी बनाउनका लागि कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) समेत नुवाकोट लगायतका प्रभावित क्षेत्र पुगेकी छन् । यस अघि उजले नेपाल टेलिकमको बबरमहलस्थित विपद व्यवस्थापन कक्षको बैठकमा सहभागी भई सेवा सुचारु कार्यवारे विभिन्न जानकारी लिनुका साथै आवश्यक निर्देशन पनि दिएकी थिइन् ।
यसै सन्दर्भमा प्रबन्ध निर्देशक पहाडीले अर्थमन्त्री र सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थितिमा नेपाल टेलिकमले गरिरहेको सेवा सुचारु कार्यको विवरण प्रस्तुत गरेकी थिइन् ।
विपदको यस अवस्थामा सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।




