व्याट–४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा गरे ३ लाख २४ हजार

 

काठमाडौंँ । भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण प्रभावितलाई राहत, उद्धार तथा पुनस्थापन र पुननिर्माणमा सहयोग गर्न ‘व्याट–४०’ का शाखा अधिकृतहरुले ३ लाख २४ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।

विनासकारी बाढीका कारण सिंगो नेपाललाई शोकमा डुबाएको अकल्पनीय प्राकृतिक विपद्मा सहयोगका लागि आफूहरुको तर्फबाट रकम जम्मा गरिएको व्याट–४० शाखा अधिकृतमध्येका एक जना अधिकृत जीवन गैरैले बताए ।

उनी अहिले पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् ।

‘यस विषम र पीडादायी परिस्थितिमा नागरिकको जिउधनको रक्षा, उद्धार, राहत तथा पुनःस्थापना एवं क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणमा राज्यलाई केही भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले हामी व्याट–४० का अधिकृतहरूको तर्फबाट संकलित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छौँ,’ उनले भने ।

‘व्याट–४०’ का शाखा अधिकृतहरुले ३ लाख २४ हजार ४४४ रूपैयाँ जम्मा गरेका हुन् ।

व्याट–४० भनेको आधारभूत प्रशासनिक प्रशिक्षण लिएका शाखा अधिकृतहरुको ४०औं समुह हो । यो समुहमा २०३ जना शाखा अधिकृत छन् । यसमध्ये ३२ जना विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छन् भने ४० जना मालपोत कार्यालयहरुमा कार्यरत छन् । यस्तै, ६ जना शाखा अधिकृतहरु गृहमन्त्रालय र मातहत कार्यालयहरुमा छन् भने ५ जना श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत छन् । बाँकी शाखा अधिकृतहरु लेखा, लेखापरीक्षण र संसद सेवामा कार्यरत छन् ।

भोटेकोसीमा आएको विनाशकारी बाढीले सिंगो नेपाललाई शोकमा डुबाएको छ। यस अकल्पनीय प्राकृतिक विपद्मा ६ सयभन्दा बढीको ज्यान गइसकेको छ भने १ हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्। साथै, खर्बौं रुपैयाँ बराबरका भौतिक संरचना ध्वस्त भएका छन्।

 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update