नुवाकोट । नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत छन् ।
सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा बाढीपछि आफैंमा चुनौतीपूर्ण छ ।
नुवाकोट र रसुवालाई जोड्ने त्रिशूली नदी आसपासको महत्वपूर्ण संगमस्थल बेत्रावती पाँच दिनअघिसम्म मानिस र सवारीको चहलपहलले भरिएको व्यस्त बजार थियो । तर केही मिनेटमै आएको भीषण बाढीले आज यहाँको परिचित दृश्य पूर्ण रूपमा बदलिदिएको छ ।
जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा, माटो र बाढीले बगाएर ल्याएको गेग्य्रान, भग्नावशेष छ । कतै आधा ढलेका संरचना छन्, कतै अरू ठाउँबाट बगाएर ल्याइएका घरका सामान र संरचना थुप्रिएका छन् ।
‘बाढी आउँछ भन्ने थाहा थियो, यस्तो आउँछ भन्ने थाहा थिएन’
घटनाको चार दिनपछि वैकल्पिक बाटो प्रयोग गरेर तीन घण्टाको कच्ची सडकको यात्रापछि हामी बेत्रावती बजार पुगेका थियौँ । स्थानीय इन्द्रबहादुर मगरसँग हाम्रो भेट भयो । उनले घटनाअघि र पछिका कथाव्यथा सुनाए ।
उनकाअनुसार बाढी आउँदैछ भन्ने जानकारी पाएपछि सुरक्षित स्थानमा भाग्न चार–पाँच मिनेटभन्दा बढी समय थिएन । ‘हामीलाई बाढी आउँदैछ भन्ने थाहा भएको जम्मा चार–पाँच मिनेटअघि मात्रै हो । यति ठूलो बाढी आउला भनेर कसैले सोचेको पनि थिएन,’ उनी घटनाको दिनतिर फर्किए ।
उनकाअनुसार पुलको एकातर्फ मात्रै करिब १ सय २० देखि १ सय २५ घर थिए । पुलपारिको नयाँपुल क्षेत्रमा पनि करिब एक सय घर थिए । आसपासका अन्य बस्तीसमेत जोड्दा सयौं घर प्रभावित भएका छन् । तर, अहिले बेत्रावतीका बासिन्दाका लागि सबैभन्दा ठूलो चिन्ता घर र सम्पत्तिको क्षति होइन । उनीहरुलाई चिन्ता छ – हाम्रा मान्छे कहाँ छन् ?
बेत्रावतीका आधा मान्छे हराएको इन्द्रबहादुरको आकलन छ । ‘जनसंख्याको झन्डै ५० प्रतिशत मान्छे हराइरहेका छन्,’ उनी भन्छन्, ‘कसैको परिवारका दुई जना गए, कसैको तीन जना । कतिपय घरमा एक जना बाँचेका छन्, कतिपयको त कोही पनि बाँकी छैन ।’
बाढी आएको दिन मगर आफैं रसुवातिर थिए । उनको परिवार भने बेत्रावतीस्थित घरमा थियो ।
स्थानीय आनन्दलाल श्रेष्ठले मगरकी छोरी अनितालाई खोला आउँदै गरेको खबर दिएका थिए । खबर पाएलगत्तै अनिता घरबाट बाहिर निस्किइन् । उनको छोरा पनि उनीसँगै थिए । केही मिनेटको त्यो दौडले उनीहरूको ज्यान बाँच्यो । ‘मेरी छोरी र नाति बाँच्नुभयो । छिमेकीले खबर नगरेको भए के हुन्थ्यो थाहा छैन,’ उनले सम्भावित दुर्घटनातर्फ लख काटे ।
सडक पार गर्न नपाउँदै बाढीले मानिसहरूलाई बगाएको स्थानीय बताउँछन् । घरभित्र रहेका, भाग्न खोजिरहेका र सुरक्षित स्थान खोजिरहेका धेरै मानिसहरू एकैछिनमा भीषण भेलमा परे । इन्द्रको आफ्नै घर पनि बाढीले बगायो । ‘अहिले म माथिको गाउँमा गएर बसेको छु । पहिले एउटा सानो एक कोठाको घर थियो । अहिले त्यहीँ बसिरहेका छौं। यहाँ आएर हेर्दा पनि केही बाँकी छैन,’ उनी दुःखी सुनिए ।
घटनापछि उनले परिवारलाई काठमाडौँ पठाएका छन् । उनी बेत्रावतीमै छन् । ‘१० वटा बंगुर छन् । दाना–पानी दिनुपर्छ भनेर फर्केर आउँछु,’ उनले आफू बेत्रावतीमा रहनुको कारण खुलाउँदै थपे, ‘परिवारलाई काठमाडौं पठँउा । म फेरि दाना लिएर यहाँ आउँछु अनि फेरि बास बस्न माथि गाउँमै फर्किन्छु ।’
बेत्रावती आसपासका बासिन्दा खोलाको बाढीसँग अपरिचित थिएनन् ।
सानातिना बाढी आउने भएकाले पहिलेपहिले मानिसहरू पुलमा उभिएर हेर्थे । तर यसपटक आएको बाढीले वर्षौंदेखिको अनुभव र अनुमानलाई गलत साबित गरिदियो । ‘खोला त पहिले पनि बढ्थ्यो । बाढी आयो भने हेर्न पनि जान्थ्यौँ । तर, यस्तो सबै बस्ती नै लैजाने गरी आउँछ भन्ने कसैले सोचेको थिएन,’ मगर सम्झन्छन् ।
शव खोज्न पनि चुनौती
बेत्रावतीमा अहिले प्रहरी र सुरक्षाकर्मीको प्रमुख काम बनेको छ – बाढीले बगाएकाको खोजी र शव व्यवस्थापन ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट शव व्यवस्थापनका लागि प्रहरी वरिष्ठ उपरीक्षक विमलदास कँडेलको नेतृत्वमा टोली बेत्रावतीमा खटिएको छ । उनकाअनुसार बेत्रावती क्षेत्रमा एकैदिन ६ वटासम्म शव भेटिएका छन् । नजिकैको उत्तरगया विद्यालय क्षेत्रमा पनि थप तीन शव भेटिएको छ । प्रहरीले तीमध्ये एक जना विद्यालयका विद्यार्थी र दुई महिला रहेको जनाएको छ ।
शव सुरक्षित रूपमा बाहिर निकाल्ने विषय प्रहरीलाई चुनौती बनेको छ । बाढीले थुपारेको मलबा, दलदल र क्षतिग्रस्त भूगोलका कारण सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न र शव बाहिर निकाल्न कठिन भइरहेको छ । कतिपय स्थानमा सडकसमेत छैन । केही शव निकाल्न हेलिकप्टर आवश्यक परेको छ । ‘केही ठाउँमा हेलिकप्टर अवतरण गर्न पनि सकिँदैन । होभरिङ (हेलिकप्टर अगाडि–पछाडि नबढी एउटै ठाउँमा हावामा रहनु) गरेर शव उठाउनुपर्ने अवस्था छ,’ कँडेलले सुनाए ।
बस्ती छैन, बस्ने ठाउँ छैन । बेत्रावतीमा खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी आफैं पनि कठिन परिस्थितिमा काम गरिरहेका छन् । बाढी प्रभावित क्षेत्रमा बस्न मिल्ने घर एकाध छन् । अधिकांश घरमा क्षति पुगेको छ भने धेरै स्थानीय सुरक्षित स्थानतर्फ गइसकेका छन् ।
खाना र बसोबासको समस्या पनि उत्तिकै छ । सामान्य लजिस्टिक सहयोगका लागि समेत जिल्ला सदरमुकाम विदुरसम्म पुग्न करिब तीन घण्टा लाग्छ । आउजाउमै करिब ६ घण्टा बित्ने भएकाले खोजी कार्यमा खटिएका टोलीका लागि आवश्यक सामग्री र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
ज्यान बच्यो, तर अभावै–अभाव
बाढीबाट जोगिएका धेरै परिवार अहिले माथिल्लो गाउँ, आफन्तको घर र काठमाडौंसम्म पुगेका छन् ।सुरक्षित स्थानमा पुगेपछि पनि उनीहरूको समस्या सकिएको छैन ।
बाढीपीडितहरू पुगेका गाउँमा खानेकुराको अभाव हुन थालेको छ । स्थानीयसँग भएको चामल, पिठो र अन्य खाद्य सामग्री सकिन थालेको बाढीपीडित इन्द्रले सुनाए । ‘मान्छेहरू गाउँमा गएर बसेका छन् । पहिलेका गाउँलेलाई त पुग्थ्यो,’ उनी भन्छन्, ‘तर यतिका पीडितहरू गएपछि सबैलाई खुवाउनुपरेको छ । चामल र पिठो सकिन थालेको छ ।’
विद्युत् आपूर्ति नहुँदा समस्या झन् थपिएको छ । गाउँमा धान, मकै र अन्य खाद्यान्न नभएको होइन । तर, त्यसलाई प्रशोधन गरेर खान सक्ने अवस्था छैन ।
सरकारी राहत पर्याप्त रूपमा नपुगेको गुनासो पनि स्थानीयको छ । केही व्यक्तिगत संस्था, समुदाय र संगठनले राहत वितरण गरेपनि सबै प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको उनीहरूको भनाइ छ ।
बेत्रावतीमा त्रिशुलीको बहाब घटिसकेको छ । तर पीडा घटेको छैन । कोही आफ्ना हराएका सदस्यको खोजीमा छन् । कोही शव पहिचान गर्ने प्रतीक्षामा छन् । कुनै परिवार अस्थायी बसोबासमा भोक र अभावसँग जुधिरहेका छन् ।
बगिसकेको बस्तीको बीचमा उभिएर इन्द्रबहादुर मगरसहित जीवनजवानी बेत्रावतीमा बिताएकाहरू भदौ १० को घटना विश्वास गर्न सकिरहेका छैनन् । तर, आँखैअघि मच्चिएको प्रलय सत्यभन्दा टाढा छैन । बेत्रावती बजार जहाँ सयौँ घर थिए, बाक्लो बस्ती थियो त्यहाँ आज केही बाँकी छैन ।
शब्द/तस्बिर : प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी




