मुगु । छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफ्नो पाँच वर्ष अर्थात् ५९ महिनाको कार्यकालमा प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी जनताको हितमा लगानी गर्ने घोषणा गरेका छन् ।
पत्रकार सम्मेलन आयोजना गर्दै आफूले पाउने पारिश्रमिक, दशैँ सुविधा तथा विभिन्न बैठक, कार्यक्रम, तालिम र गोष्ठीबाट प्राप्त हुने भत्तालगायत सेवा–सुविधालाई शिक्षा, स्वास्थ्य, विपन्न तथा दलित समुदाय, विपद् प्रभावित नागरिक र सार्वजनिक पूर्वाधारका क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको विवरण अनुसार पाँच वर्षको पारिश्रमिक, पाँच वटा दशैँ सुविधा तथा अन्य सेवा–सुविधासहित करिब २८ लाख १४ हजार रुपैयाँ प्राप्त हुने देखिन्छ ।
सो रकमलाई जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्यक्रममार्फत खर्च गर्ने योजना सार्वजनिक गरिएको छ ।
निर्वाचनका बेला नगरवासी समक्ष आफ्नो सेवा–सुविधाबाट एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता गरेको स्मरण गर्दै अहिले उक्त योजना तत्कालका लागि पुन मूल्यांकन गरिएको बताए । उनका अनुसार छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिका, छायाँनाथ सहकारी, जिल्ला अस्पताल तथा रेडक्रसका गरी ८ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।
तर, सडक यातायातको सीमितता र भौगोलिक कठिनाइका कारण बजार तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका एम्बुलेन्ससमेत कतिपय अवस्थामा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको अवस्था रहेको उनको भनाइ छ । त्यसैले नयाँ एम्बुलेन्स खरिद गरेर मात्र नागरिकलाई स्वास्थ्य सेवा सहज हुन्छ भन्ने अवस्थाभन्दा उपलब्ध स्रोतलाई तत्काल प्रतिफल दिने क्षेत्रमा परिचालन गर्नु उपयुक्त हुने निष्कर्षमा पुगेको नगरप्रमुख भामले स्पष्ट पारेका छन् ।
‘जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने नाममा राज्यको स्रोत त्यस्तो क्षेत्रमा लगानी गर्नु उचित हुँदैन, जहाँ तत्काल अपेक्षित प्रतिफल प्राप्त नहुन सक्छ, त्यसको सट्टा जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने र तत्काल लाभ पुग्ने क्षेत्रमा स्रोत परिचालन गर्नुपर्छ,’ उनले भने । एम्बुलेन्स खरिदका लागि सम्भावित बजेट तथा स्रोतलाई अब शिक्षा, स्वास्थ्य, विपन्न नागरिकको सहयोग तथा सार्वजनिक पूर्वाधार निर्माणमा परिचालन गर्ने योजना बनाइएको उनले बताए ।
योजनामा सबैभन्दा महत्वपूर्ण प्राथमिकता शिक्षा सुधारलाई दिइएको छ । आर्थिक अभावका कारण प्रतिभावान् तथा जेहेन्दार विद्यार्थीले आवश्यक शैक्षिक सामग्री प्राप्त गर्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने कार्यक्रम अघि बढाइने उनले बताए ।
सार्वजनिक गरिएको लागत अनुमान अनुसार शैक्षिक सामग्री वितरण कार्यक्रमका लागि ८ लाख ५४ हजार रुपैयाँ छुट्याइएको छ । यो कार्यक्रम छायाँनाथ रारा नगरपालिका तथा मुगुम कार्मारोङ, सोरु र खत्याड गाउँपालिकाका विद्यालयमा आवश्यकताका आधारमा सञ्चालन गर्ने योजना छ ।
मेयर भामले कुनै विद्यार्थी आर्थिक अभावकै कारण पढाइबाट पछाडि पर्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम अघि बढाउन लागेको बताए । यसैबीच दलित तथा विपन्न वर्गका बालबालिकालाई लक्षित गरी ४ लाख ६० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई आवश्यकताका आधारमा सहयोग गरिने र सहयोगमा कुनै राजनीतिक आस्था, दल वा व्यक्तिगत सम्बन्धलाई आधार नबनाइने नगरप्रमुख भामले स्पष्ट पारेका छन् । विपद्बाट प्रभावित नागरिकलाई राहत तथा सहयोगका लागि ४ लाख रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ ।
मेयर भामले जनताको दुःखलाई आफ्नो दुःख र जनताको खुसीलाई आफ्नो खुसी ठानेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै विपद्का बेला तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले रकम परिचालन गरिने बताए ।
सार्वजनिक स्थलमा आवश्यक पाटी, पौवा, खानेपानी तथा धारा निर्माण र मर्मतका लागि ४ लाख रुपैयाँ, प्रारम्भिक बाल विकास (ईसीडी) कक्षाका बालबालिकाका लागि खेलौना तथा अन्य सामग्री सहयोगमा २ लाख रुपैयाँ र सरसफाइ सामग्री वितरणमा २ लाख रुपैयाँ खर्च गर्ने योजना छ ।
त्यस्तै, बिरामी भेटघाट कार्यक्रममा फलफूल तथा अन्य सहयोगका लागि ३ लाख रुपैयाँ विनियोजन गर्ने योजना सार्वजनिक गरिएको छ । यी कार्यक्रमका लागि सार्वजनिक गरिएको लागत अनुमानअनुसार कुल २८ लाख १४ हजार रुपैयाँ खर्च हुने देखिन्छ ।
मेयर भामले विकास भन्नाले ठूला–ठूला भवन र सडक निर्माण मात्र नभएको बताए । उनका अनुसार गाउँको सार्वजनिक धारा, यात्रु बस्ने चौतारो, विद्यार्थीले पढ्न पाउने कापी–कलम र विपन्न परिवारले पाउने सानो राहत सहयोगले पनि नागरिकको जीवनमा ठूलो अर्थ राख्न सक्छ ।
‘हाम्रो प्राथमिकता ठूलो देखिने योजनाभन्दा जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना हुनुपर्छ,’ उनले भने ।
उनले कार्यक्रम सञ्चालन गर्दा छायाँनाथ रारा नगरपालिका तथा मुगुम कार्मारोङ गाउँपालिकाका खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा सम्बन्धित विद्यालय, वडा र स्थानीय आवश्यकताको पहिचान गरी प्राथमिकता निर्धारण गरिने बताए ।
कुन ठाउँमा बढी आवश्यकता छ, कुन विद्यार्थी वास्तविक रूपमा विपन्न छन्, कुन समुदायलाई तत्काल सहयोग आवश्यक छ र कुन सार्वजनिक संरचना आवश्यक छ भन्ने विषयमा सम्बन्धित निकाय तथा स्थानीय समुदायसँग समन्वय गरिने उनले स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा मेयर भामले आफ्नो राजनीतिक दर्शनसमेत स्पष्ट पारे । उनले जनप्रतिनिधिको पद केवल पद प्राप्त गर्ने माध्यम नभई जनताले दिएको विश्वास, जिम्मेवारी र अवसर भएको बताए ।
‘राजनीति व्यवसाय होइन, सेवा हो। जनताको स्रोत व्यक्तिगत सम्पत्ति होइन, सार्वजनिक सम्पत्ति हो। जनप्रतिनिधिको पद सुविधा भोग्नका लागि होइन, जिम्मेवारी पूरा गर्नका लागि हो,’ उनले भने ।
मेयर भामलेआफूले कानुनबमोजिम पाउने सेवा–सुविधा लिनु गलत नभए पनि त्यसलाई राजनीतिलाई कमाइ खाने माध्यम बनाउनु गलत भएको धारणा राखे । आफ्नो लक्ष्य पद, सुविधा वा भाषण नभई परिणाम र जनताको हित भएको बताए हाम्रो लक्ष्य पद होइन, परिणाम हो भन्ने उनको भनाइ छ ।
‘हाम्रो प्राथमिकता सुविधा होइन, सेवा हो। हाम्रो राजनीति व्यक्तिगत स्वार्थ होइन, जनताको हित हो, भाषण होइन, काम हो,’ मेयर भामले भने ।
उनले आफूले निर्वाचनका बेला जनतासामु गरेका प्रतिबद्धता नै आफ्नो नैतिक जिम्मेवारी भएको बताउँदै परिस्थितिअनुसार कुनै योजना परिमार्जन गर्नुपरे पनि त्यसको अन्तिम उद्देश्य जनताको हित नै हुनुपर्ने धारणा राखे ।
अहिले राजनीतिमा जनताको सेवा गर्नेभन्दा ठेक्कापट्टा, एनजीओ, आईएनजीओ, सहकारीलगायत विभिन्न क्षेत्रमा व्यक्तिगत स्वार्थ र पहुँच विस्तार गर्ने प्रवृत्ति बढेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले राजनीति जनताको सेवा गर्ने माध्यम हुनुपर्ने बताउँदै आफू राजनीतिलाई व्यवसाय, पेशा वा कमाइ खाने भाँडो बनाउन नहुने पक्षमा रहेको स्पष्ट पारे ।
‘वास्तवमा राजनीति गर्ने नेता भनेको विशुद्ध सेवक हुनुपर्छ। जनताको सेवा गर्दागर्दै नेता भनेको जोगीजस्तै हुनुपर्छ, जनता रोए रुने, जनता हाँसे हाँस्ने हुनुपर्छ। तर यहाँ त्यसको उल्टो भएको छ,’ उनले भने ।
उनले आफ्नो राजनीति जनताको सेवा, सार्वजनिक हित र जिम्मेवारीका लागि हुने बताउँदै राज्यको सम्पत्ति दोहन नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउन स्थानीय सरकार पारदर्शी, जवाफदेही र जनउत्तरदायी बन्नुपर्ने बताए ।
उनले जनताले आफ्नो मत दिएर प्रतिनिधि बनाएपछि जनप्रतिनिधिको पहिलो कर्तव्य जनताप्रति जवाफदेही हुनु भएको बताउँदै आफूले प्राप्त गर्ने सेवा–सुविधा र त्यसको उपयोगसमेत सार्वजनिक गर्नु त्यसैको एउटा हिस्सा भएको उल्लेख गरे । आगामी वर्ष २०८४ साल जेष्ठ २० गतेदेखि यी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारीसमेत दिए ।
मेयर भामले आफूले कानुनबमोजिम पाउने सेवा–सुविधा लिनु गलत नभए पनि त्यसलाई राजनीतिलाई कमाइ खाने माध्यम बनाउनु गलत भएको धारणा राखे । आफ्नो लक्ष्य पद, सुविधा वा भाषण नभई परिणाम र जनताको हित भएको उनले बताए ।



