मुगु । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण छायानाथ रारा नगर पालिका वडा नं. ४ अन्तर्गतका जुकेन वरि बालै काला जुर कालापल्त, ढुमाललेखा र गिमखोला बस्तीहरुमा बाढी तथा पहिरोको जोखिम बढेको छ।
निरन्तरको वर्षाले जमिन भिजेर कमजोर भएपछि विभिन्न स्थानमा पहिरो खस्दा स्थानीयवासीको दैनिक जनजीवन प्रभावित भएको हो।
पहिरोका कारण बस्ती जोड्ने स्थानीय सडक तथा पैदलमार्गमा माटो, ढुंगा र लेदो थुप्रिएको छ। सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न कठिनाइ भएको छ भने अत्यावश्यक सामग्री ओसारपसारमा समेत समस्या देखिएको छ। विद्यालय जाने विद्यार्थी, बिरामी तथा वृद्धवृद्धालाई समेत आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्।
ताल्चा विमान स्थलको पानीले विशेषगरी कालापल्टा र माथि कालापल्टा भाम बाडा क्षेत्रमा पहिरोको जोखिम बढी देखिएको छ। ढुमालेक र कालपाल्त क्षेत्रमा पनि वर्षाका कारणले विमान स्थल को पानी जम्मा भयर बग्दा खोलाहरूमा पानीको बहाव बढेको छ। निरन्तर वर्षा भइरहेकाले पहिरो थप फैलिन सक्ने र बस्तीमा समेत क्षति पुग्न सक्ने भन्दै स्थानीयवासी चिन्तित भएका छन्।

स्थानीयवासीका अनुसार वर्षा सुरु भएपछि रातको समयमा पहिरो खस्ने तथा जमिन चर्किने समस्या देखिन थालेको छ। कतिपय स्थानमा घर तथा गोठ नजिकैबाट माटो बग्न थालेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
पहिरोका कारण खानेपानीका पाइप तथा विद्युत् लाइनमा समेत क्षति पुग्ने जोखिम बढेको छ। बाटो अवरुद्ध भएपछि बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान र दैनिक उपभोग्य वस्तु ल्याउनसमेत कठिनाइ हुने अवस्था सिर्जना भएको छ।
यसैबीच, स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न अवरुद्ध सडक खुलाउन र जोखिममा रहेका परिवारको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन माग गरेका छन्।
उनीहरूले पहिरो पन्छाउन आवश्यक उपकरण तथा जनशक्ति परिचालन गर्न पनि आग्रह गरेका छन्।
सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न स्थानीय तह, प्रहरी तथा सम्बन्धित सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुपर्ने देखिएको छ साथै, अत्यधिक वर्षा भइरहेका बेला खोलानाला, भिरालो जमिन तथा पहिरो प्रभावित क्षेत्रमा अनावश्यक रूपमा नजान स्थानीयवासीलाई सचेत गराइएको छ।
स्थानीय सरकारले प्रभावित बस्तीको अवस्थाबारे जानकारी संकलन गरी आवश्यक राहत तथा उद्धारको तयारी गर्नुपर्ने स्थानीयको माग छ वर्षा अझै जारी रहेमा थप पहिरो तथा सडक अवरोध हुन सक्ने भएकाले समयमै सावधानी अपनाउनुपर्ने देखिन्छ।
वडा नं. ४ का यी बस्तीमा देखिएको प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले तत्काल राहत, उद्धार तथा सडक मर्मतको काम अघि बढाउन आवश्यक छ स्थानीयवासीको सुरक्षा पहिलो प्राथमिकतामा राखी सम्भावित ठूलो क्षति हुन नदिन पूर्वतयारी र सतर्कता बढाउनु जरुरी देखिएको छ।



