नुवाकोट । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुख्य खण्ड अवरुद्ध भएपछि हिमाली जिल्ला रसुवालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न प्रयोग गरिएको वैकल्पिक ग्रामीण मार्ग अत्यन्तै कष्टकर र जोखिमपूर्ण बनेको छ। अत्यावश्यक यात्रु आवागमन तथा बाढी प्रभावित क्षेत्रका लागि पठाइएका राहत सामग्री ढुवानी गर्न बाहुनबेसी–छाप–लच्याङ–सरम्थली–पार्टीखर्क–फलाको खोलापुल–घिचेट हुँदै धुन्चे जोड्ने ग्रामीण सडक सञ्चालनमा ल्याइएको हो। तर, कमजोर भूधरातल, ठाडो उकालो र हिलाम्मे सडकका कारण यात्रु र चालकले चरम सास्ती खेप्नुपरेको छ।
मुख्य राजमार्ग सञ्चालनमा आउन अझै समय लाग्ने भएपछि स्थानीय प्रशासन र सरोकारवालाको पहलमा यो वैकल्पिक ट्र्याक खुला गरिएको थियो। यद्यपि, स्तरवृद्धि नगरिएको कच्ची सडकमा सवारीको अत्यधिक चाप बढेपछि यात्रा निकै जोखिमपूर्ण बनेको छ।
उकालोमा फस्छन् ट्रक, घन्टौँ जाम
वैकल्पिक मार्गको अधिकांश खण्ड एकतर्फी (सिंगल लेन) मात्र रहेको छ। दुईतर्फबाट सवारीसाधन आउँदा 'साइड' दिने ठाउँ नहुँदा सडकमा सवारी जामको लामो लाइन लाग्ने गरेको छ। विशेषगरी रसुवाका लागि खाद्यान्न, औषधि र त्रिपाललगायतका राहत सामग्री बोकेर गएका ठूला तथा भारी क्षमताका ट्रकहरू ठाडो उकालोमा पिकअप लिन नसकेर बीच बाटोमै रोकिने गरेका छन्।
साँघुरो घुम्ती र अत्यधिक चिप्लो बाटोमा कुनै एउटा गाडी बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडिका दर्जनौँ सवारीसाधन अलपत्र पर्ने गरेका छन्। सोमबार बिहान ११ बजे नुवाकोटको विदुरबाट हिँडेको एक यात्रुवाहक सवारीसाधन राति १ बजे मात्र धुन्चे पुग्न सकेको थियो। यात्राका क्रममा ५ देखि ६ वटा ठूला सवारीसाधन उकालो चढ्न नसकेर बाटोमै फसेका कारण यात्रुहरू रातभर बाटोमै भोकभोकै बस्न बाध्य भएका थिए।
सडक सुधार र सवारी व्यवस्थापन नभए संकट गहिरिने
अहिले प्रयोग भइरहेको सडक वर्षाका कारण हिलाम्मे हुनुका साथै भित्तो काटिएका ठाउँहरूमा पहिरोको जोखिम कायमै छ। मुख्य राजमार्ग तत्काल पुनर्निर्माण हुने सम्भावना नरहेकाले वैकल्पिक मार्गमै तत्काल ग्राभेल हाल्ने, हिलाम्मे खण्डहरूमा ढुङ्गा बिछ्याउने र उकालो भागलाई सहज बनाउन मर्मतसम्भारको काम तत्काल सुरु गर्नुपर्ने माग स्थानीय र चालकहरूले गरेका छन्।
यसका साथै, साँघुरो सडकमा दुईतर्फी सवारीका कारण हुने जाम हटाउन 'टाइम-कार्ड' वा आलोपालो प्रणाली लागू गरी ट्राफिक व्यवस्थापन चुस्त बनाउनुपर्ने देखिएको छ। वैकल्पिक सडकलाई तत्काल व्यवस्थित नगरिए रसुवामा दैनिक उपभोग्य वस्तु र राहत सामग्री ढुवानीमै गम्भीर संकट उत्पन्न हुने खतरा बढेको छ।




