सद्‌गुरुको ईशा नेपालले प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग गर्ने

काठमाडौँ । ईशा फाउन्डेसनका संस्थापक तथा योग र अध्यात्मकका गुरु जग्गी बासुदेव (सद्‌गुरु) ले नेपालस्थित आफ्नो संस्था ईशा नेपालमार्फत प्रधानमन्त्री राहत कोषमा १ करोड रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले ललिपुरमा आयोजित एक कार्यक्रममार्फत सो सहयोगको घोषणा गरेका हुन् । सद्गुरुले योग, अध्यात्मकका साथै प्रकृति र पर्यावरण संरक्षणको क्षेत्रमा पनि विभिन्न अभियानहरु संचालन गर्दै आएका छन् ।

नेपाल–तिब्बत सीमामा आएको भीषण बाढीले निम्त्याएको विध्वंसले जीवन गुमाएका र पीडामा रहेका परिवारहरूको साथमा उभिएर समभाव व्यक्त गर्न अनि यस दुस्खद घडीमा नेपालको निम्ति ऐक्यबद्धता जनाउन, सद्‌गुरुको उपस्थितिमा पुल्चोकस्थित द प्लाजामा एउटा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अभिनेत्री मनिषा कोइराला, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोल, ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायत अरू अतिथिहरू उपस्थित थिए । कार्यक्रममा लगभग ३ हजार भन्दा बढी सहभागीहरूको उपस्थिति थियो । 

कार्यक्रममा मनिषा कोइरालाले नेपालले बारम्बार अनेक विपद्हरू सामना गर्नुपरेकोमा अत्यन्तै दुस्ख व्यक्त गरेकी थिइन् । जलवायु परिवर्तन जस्तो चुनौतीपूर्ण समस्यालाई सम्बोधन गर्न नेपाल, भारत र चीनले एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।

सद्‌गुरुले यो स्तरको विपत्तिको लागि नेपाल सरकारलाई मात्र दोष थोपर्न नहुने बरू विश्व समुदायहरूले यसमा मिलेर काम गर्नुपर्ने बताए । बढ्दो जलवायु परिवर्तनले निम्त्याउने विपत्तिहरूलाई सम्बोधन गर्नका लागि नेपाल र छिमेकी राष्ट्रहरू एक ढिक्का भएर हिमाली क्षेत्रहरूलाई व्यवस्थापन गर्नेतर्फ अग्रसर रहनु अहिलेको अपरिहार्य भएको उनको भनाइ छ । सद्गुरुले तुरुन्तै अव्यवस्थित रूपमा पुनर्निर्माण गर्नुको सट्टा विज्ञहरूको टोली बनाएर सही तरिकाले पुनर्स्थापना गर्नेतर्फ विमर्श गर्नुपर्ने सुझाव दिए, ताकि भविष्यमा क्षति न्युनिकरण गर्न सकियोस् । 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update