काठमाडौँ । भदौ १२ गते समाजशास्त्री निर्मला ढकालले फेसबुकमा लेखिन् –‘शव राख्ने झोलासमेत छैन, ठूलो कुरा गर्छन्..हरु ।’
उनले भोटेकोशी बाढीका कारण प्रभावितको राहत र उद्धारमा विदेशी सहयोग लिनु पर्ने सुझाव स्वरुप यस्तो लेखेकी थिइन् । तर, ‘सरकार समर्थकहरु’लाई ढकालको यो फेसबुक स्टेटस उनीहरुको प्रधानमन्त्रीलाई हटाउने तोक आदेश जस्तो लागेछ । त्यसैले ‘सरकार समर्थकहरुले’ ढकालको खेदो खन्दै अश्लील शब्दहरुले भरिएको गालिगलौजको वर्षा गराएका छन् ।
उनको सो फेसबुक स्टेटसमा लेखिएका सबैभन्दा सभ्य गालीहरु यस्ता छन्– ‘३५ बर्षसम्म अलिकति झोलाको जोहो गर्नु पर्दैन तपाईका दाईहरुले ? ६ महिनामै सबै किनेर ठिक्क पार्नु पर्ने त हैन होला ।’ यस्तो कमेन्ट लेख्ने फेसबुक प्रयोगकर्ताको नाम रामकृष्ण शर्मा छ ।
अर्का प्रयोगकर्ता रामचन्द्र योञ्जन लेख्छन्– ‘जनता मर्छ भनेर शव राख्ने झोला तयार गरि राख्नु पर्ने ? सोच पनि कस्तो हो ? सरकारले तीव्र गतिमा काम गरिरहेकै छ । विपद् आई पर्यो जसो तसो टार्छ तपाई चिन्ता नगर्नू । हिजो नख्खुमा २/३ घण्टा उद्धारका लागि कुर्दा पनि ज्यान गुमाउने अवस्था यो सरकारले हुन दिंदैन ।’
कमल रानाभाट नाम गरेका अर्का प्रयोगकर्ता त ढकालको शैक्षिक योग्यतामाथि नै प्रश्न उठाउँछन् । लेख्छन् – ‘चर्चले समाजशास्त्री उपाधी दिएकि रातो टिकावालि मेडम । विदेशको पिआर लिएर नेपाल सरकार माथि विष वमन नगर्नु न होउ ।’
मोहन खड्का नाम गरेको फेसबुक प्रयोगकर्ता ढकालको सो स्टेटसमा कमेन्ट गर्दै लेख्छन्– ‘ यो सब तेरो बाउहरुले गर्दा होनि जाँठि, हिजो यत्रो शासन गर्दा आवश्यक पर्ने सामग्रीको ब्यबस्थापन गर्न नसक्ने ठुलो कुरा गर्ने काट्टो सोर्न आइज ।’
यो सामग्री तयार पार्दासम्म ढकालको सो स्टेटसमा १२४ वटा कमेन्ट आइसकेका छन् । ती अधिकांश कमेन्टमा महिलालाई गाली गर्न प्रयोग गरिने निकृष्ट, अश्लील र अमर्यातित शब्दहरुले गाली गरिएको छ ।
र, ती सबै गालीको समान आशय छ– सरकारले गज्जव राम्रो काम गरिरहेको छ, निर्मला ढकालले अनावश्यक रुपमा सरकारको विरोध वा आलोचना गरिरहेकी छन् । अर्थात ढकाललाई गाली गर्नेहरु सकारका समर्थक हुन् ।
अहिले सामाजिक संजालमा ‘सरकार समर्थकहरु’को गाली खाने ढकाल एक्लो भने होइनन् । एकजना महिलाले आफ्नो श्रीमान भोटेकाशी बाढीमा परेकोले उद्धार गर्न आग्रह गर्दा त्यस्तै ‘सरकार समर्थकहरु’ले उनलाई बलात्कार गर्नेसम्मको चेतावनी दिएका छन् ।
अर्का सामाजिक संजाल प्रयोगकर्ता दिल निसानी मगर ‘सरकार समर्थहरु’को तारो बनिरहेका अर्का पात्र हुन् । उनीमाथि पनि अनेकन लाञ्छनायुक्त, अश्लील र अमर्यादित शब्दले गालीको वर्षा हुने गरेको छ । यसैकारण आजित भएर उनले सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्– ‘अश्लील कमेन्ट गर्छन् भन्दैमा मनमा आएको विचार लेख्न छाड्ने कुरा पनि भएन । के गर्ने त, सामाजिक सञ्जाल चलाउन पुलिस रिपोर्ट चाहिँदैन, मेडिकल रिपोर्ट पनि चाहिँदैन । न क्याम्पस पढेको सर्टिफिकेट चाहिन्छ । कुन आमा बलात्कारीले कुन दुलोभित्र बसेर कस्तो कमेन्ट गर्छ, त्यो उसैले जान्ने कुरा हो । तर मलाई अश्लील कमेन्टको नेपाली प्याटर्न दशकौँदेखि थाहा छ । नेपालको कुन जिल्लाका मान्छे कतिसम्म गिर्न सक्छन्, तिनको नाम, थर के हुन्छ, सबै थाहा छ । बिरालोले मासु सुँघेजस्तै, यिनीहरूको प्रोफाइल पिक्चर हेरेपछि मलाई कमेन्ट पढ्नु पर्दैन ।’
दिल निसानी मगरले भने झै सबै मानिससँग दशकौंदेखि अश्लील कमेन्ट पचाएको अनुभव र अभ्यास नहुन सक्छ । कतिपय यस्तो असभ्य गाली पचाउन सक्ने अवस्थामा हुँदैनन् । बाढीमा हराएको श्रीमान खोजिगरिदिन आग्रह गर्दा बलात्कारको चेतावनी कसरी सहन सकिन्छ ? बाढीले बगरमा पुरिदिएका बाबुआमाका नाबालक छोराछोरी रोइरहेको भिडियो देख्दा ‘सरकारलाई दोष देखाउन रोएको नाटक गरेका’ भन्ने ‘सरकार समर्थकहरु’लाई मान्छे भन्न सकिन्छ ?
भोटेकोशी बाढीले कम्तिमा १० हजार मान्छे बगाएको वा पुरेको प्रारम्भिक अनुमान छ । कही कतै कोही बाँचिरहेका छन् कि, उद्धारको प्रतिक्षामा छन् कि, मेरा आफन्त फलानो ठाउँतिर थिए तै भेटिन्छ कि भन्नु सरकारको विरोध हो भन्ने ठान्नेहरुलाई मानिस बनाउन अझै धेरै वर्ष लाग्न सक्छ ।
भोटेकोशी वाढीपछि सरकारको समर्थनमा सामाजिक संजालमा जे जस्ता मानिसहरु देखापरेका छन्, ती मानिस को हुन् ? तिनीहरु के खान्छन् ? तिनीहरु मानिस नै हुन कि अन्य केही ?
र, सबैभन्दा महत्वपूर्ण विषय के हो भने यस्ता समर्थकहरु सरकारलाई चाहिएकै हो ? मेरो श्रीमान फालानो ठाउँमा थिए, उद्धार गरिदिनु भन्ने महिलालाई बलात्कार गर्ने चेतावनी दिनेहरु, नेपालसँग स्रोत साधन कम छ, छिमेकी र मित्रराष्ट्रहरुसँग सहयोग लिनु उचित हुन्छ भन्ने सल्लाह दिदा शैक्षिक योग्यता जाँच्न तम्सनेहरुको समर्थन सरकारलाई चाहिएको हो कि होइन भनेर सरकारले प्रष्ट पार्नुपर्छ । यदि यस्तै समर्थकको सरकारलाई आवश्यक छ भने उनीहरुलाई नेपाल सरकारबाट प्राप्त हुने सबैभन्दा उच्चस्तरको पुरस्कार र सम्मान प्रदान गरियोस् । होइन भने सरकारले यस्ता निच स्वभाव र मानसिकतामा ‘समर्थकहरु’लाई कारवाही गर्न ढिला गर्नु हुँदैन । अब स्पष्ट हुनेछ कि यस्ता ‘समर्थकहरु’लाई कारवाही गरेन भने सरकार यस्तै समर्थक चाहन्छ ।




