काठमाडौं । रसुवा बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला परेको घरमा मंगलबार थप खोजी तथा उद्दार कार्य अघि बढाइँदैछ ।
बाढी आएको ६ दिनपछि सोमबार बेत्रावतीमा एउटै घरमा २० भन्दा बढी शव फेला परेका थिए । भदौ १० गते बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेपछि सो क्षेत्रमा थप खोजी र उद्धारको काम हुन लागेको हो ।
यद्यपि प्रहरीका अनुसार यो स्थानमा कति शव छन् भन्ने एकिन भने भइसकेको छैन । तर २० भन्दा बढी शव पुरिएको घरको एउटै कोठाभित्र फेला परेका छन् ।
सोमबार साँझ भइसकेको र पानी समेत परेका कारण शवहरुको संख्या एकिन गर्न र उद्दार गर्न सकिएको थिएन । सोही कारण मंगलबार पुनः यो स्थानमा खोजी कार्य अघि बढाइदैछ ।
विदुर नगरपालिकाका वडा सदस्य मंगल तामाङका अनुसार सो घरबाट सोमबार केही शव निकालिएको थियो भने अरु सोही स्थानमा रहेकाले थप खोजी अघि बढ्नेछ ।




