काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा पृथ्वी राजमार्ग अन्तरगतको कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक बनाइसक्ने भएको छ ।
पूर्वाधार विकास मन्त्रालयमा कृष्णभीर पहिरो तथा पृथ्वी राजमार्ग सञ्चालन सम्बन्धमा आज भएको बैठकमा यस्तो छलफल भएको हो ।
मन्त्री सुनिल लम्सालको सचिवालयले दिएको जानकारी अनुसार पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा विभिन्न निर्णयहरु गरिएको छ ।
मन्त्रालयले तत्काल विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा ुग्याबियन ब्रेस्ट वालुमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने निर्णय गरेको छ ।
यस्तै, ट्र्याक खोल्ने कार्यसँगै सेक्रिफिसियल ग्याबियन बक्स तथा बोल्डर हिलसाइडबाट तल खसाल्ने कार्यसमेत गर्ने निर्णय भएको छ ।
कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्न तथा कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णय भएको हो ।
यी विकल्पहरूको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने निर्णय पनि भएको मन्त्रालयले जानकारी दिएको छ ।




