प्रधानमन्त्री कार्यालयले भन्यो– प्रधानमन्त्रीले घोषणा गरेकै मितिभित्र कृष्णभीरमा ट्रयाक खोलियो

 

काठमाडौँ । पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा सम्बोधनका क्रममा घोषणा गरेको मितिभित्रै ट्रयाक खोल्ने काम सम्पन्न भएको हो ।

प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा यही भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताएका थिए ।

प्रधानमन्त्रीको सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ । यसका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निरन्तर खटिरहेका छन् ।

भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुर्‍याएको थियो भने भदौ १४ गते आएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्लिकल सोसाइटीका प्राविधिकहरुको सहयोगमा ४ दिनसम्म द्रुत अध्ययन गरेको थियो । विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिएका थिए । विज्ञहरुबाट प्राप्त सुझावका अनुसार यही भदौ १९ गतेदेखि रुख कटान सुरु गरिएको थियो । त्यसपछि ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर ट्रयाक निर्माण गरिएको हो । 

यस काममा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेका छन् । फलस्वरुप काम सुरु भएको १०औँ दिन अर्थात भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारी साधन सञ्चालन भइसकेको छ । त्यसयता बिहान र बेलुका अत्यावश्यक यातायात आवतजावत भइरहेको छ ।

हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । भोलिसम्म ग्राभेलको काम पूरा हुनेछ भने असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update