आजको मौसम : ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ ।

कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ भने बाँकी सबै भू–भागमा साधारणतया बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम सम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नुका साथै देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । 

कोशी  र सुदूरपश्चि प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

यसैगरी भरे राति पनि देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

कोशी प्रदेशको तराई भू–भागका केही, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयकाजस्ता प्रकोपको जोखिम रहेको विभागले जनाएको छ । 

सोही कारण क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्दार तथा राहातमा असर पर्ने सम्भावना रहेकोले पछिल्लो सूचनामा अद्यावधिक हुन विभागको अनुरोध छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update