काठमाडौँ । झापा जिल्लाको झापा गाउँपालिकाले कृषक तथा कृषि सहकारीमार्फत युरिया मल सहज रूपमा वितरण गर्ने उद्देश्यले १ हजार ९ सय बोरा युरिया मलको कोटा निर्धारण गरेको छ।
गाउँपालिकाको कार्यालयले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, शाखा कार्यालय बिर्तामोडबाट प्राप्त युरिया मललाई गाउँपालिकाका विभिन्न वडामा रहेका कृषि सहकारी तथा संस्थामार्फत वितरण गर्ने गरी कोटा निर्धारण गरेको हो।
गाउँपालिकाले दिएको जानकारी अनुसार वडा नं. १ देखि ७ सम्म रहेका विभिन्न कृषि सहकारी तथा संस्थालाई मल वितरणको जिम्मेवारी दिइएको छ। सम्बन्धित सहकारी तथा संस्थाले तोकिएको कोटाअनुसार मल खरिद गरी कृषकलाई उपलब्ध गराउनेछन्।
सूचनामा गाउँपालिकाको कृषि शाखा, सम्बन्धित वडा तथा कृषि सहकारीमार्फत मल वितरणको व्यवस्था मिलाइएको जनाइएको छ। किसानलाई आवश्यक पर्ने युरिया मलको अभाव नहोस् भन्ने उद्देश्यले प्राप्त मललाई संस्थागत रूपमा वितरण गर्न कोटा निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सम्बन्धित क्षेत्रका मल बिक्रेताबाट तोकिएको कोटाअनुसार युरिया मल खरिद गर्न सबै कृषकलाई आग्रहसमेत गरेको छ।




