सुन्धारामा फेरि प्राकृतिक पानी बगाउने महानगरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक सुन्धारामा प्राकृतिक रूपमा पानीको प्रवाह पुनःस्थापित गर्ने सम्भावनाबारे अध्ययन थालेको छ। पानीको स्रोत पहिचानसँगै पुरानो निकास खोल्ने उपायबारे महानगरले अभियान कन्सल्टिङबाट परामर्श सेवा लिएर अध्ययन गरिरहेको हो।

अध्ययनका क्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले टुँडिखेलको पश्चिम कुनामा र महाङ्कालको दक्षिणतर्फ खनिएको इनारको निरीक्षण गरिन्। उनले सुन्धारामा पानी ल्याउने र त्यसको निकास खोल्ने कामलाई मुख्य लक्ष्य बनाएर अध्ययनलाई तीव्रता दिन निर्देशन दिइन्।

‘सुन्धारामा पानी खसाल्नु छ। त्यसको निकास खोल्नु छ। हाम्रो अर्जुन दृष्टि त्यही हो,’ डंगोलले भनिन्।

महानगरका अनुसार सुन्धारामा पानी ल्याउने विभिन्न विकल्प भए पनि प्राथमिकता प्राकृतिक रूपमा जलप्रवाह कायम गर्नु हो।

अध्ययनका क्रममा खनिएको इनार करिब १० फिट गहिरो र साढे तीन फिट गोलाइको छ। सुन्धाराको सतह इनार खनिएको स्थानभन्दा करिब १० फिट तल रहेकाले त्यसभन्दा माथिल्लो तहमा उपलब्ध पानी मात्र प्राकृतिक रूपमा सुन्धारातर्फ जान सक्ने विज्ञहरूको भनाइ छ।

इनार खन्ने क्रममा प्रत्येक एक फिटमा माटोको नमुना संकलन गरिएको छ। भूमिगत जलस्रोत विज्ञ डा. विजयमान शाक्यका अनुसार माटो परीक्षणबाट जमिनमुनि पानीको उपलब्धता र स्रोतको अवस्थाबारे थप विश्लेषण गर्न सकिनेछ।

जल संरक्षण विज्ञ विश्वप्रकाश अमात्यले इनारमा पानीको उपलब्धता अध्ययन गरेपछि त्यसपछिको प्रक्रियाबारे निष्कर्ष निकाल्न सकिने बताए।

स्थानीयका अनुसार सुन्धारामा विसं २०४१ सालसम्म पानीको प्राकृतिक निकास थियो। सुन्धारा नजिकै बहुतले भवन निर्माणका लागि जग खन्ने क्रममा फलामे पाता प्रयोग गरिएपछि पानीको बहाव रोकिएको थियो।

स्थानीय गौत्तम डंगोलका अनुसार विसं २०५६ सालतिर सुन्धारामा पुनः पानी ल्याउने प्रयास गर्दा पानी आए पनि निकास खोल्न नसकेपछि पानी बन्द गर्नुपरेको थियो।

‘पानी पनि आयो। तर निकास खोल्न नसकेपछि आइरहेको पानी पनि बन्द गर्नु परेको थियो,’ उनले भने।

२०७२ सालको भूकम्पपछि धरहरा पुनर्निर्माणका क्रममा थप ठूला संरचना निर्माण हुँदा पुरानो जलप्रवाह प्रणालीमा समेत असर परेको स्थानीयको भनाइ छ।

महानगरले अहिले पानीको स्रोत, प्राकृतिक बहाव र निकासको सम्भावनाबारे अध्ययन गरिरहेको छ। अध्ययनको निष्कर्षका आधारमा सुन्धारामा प्राकृतिक रूपमा पानी फर्काउने योजना अघि बढाइनेछ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update