काठमाडौं । शिक्षा विभागले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) मा अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ।
विभागले विद्यालयमा अध्ययनरत वास्तविक विद्यार्थीको संख्या र आइइएमआइएसमा रहेको विद्यार्थी विवरण फरक परेको पाइएपछि यस्तो निर्देशन दिएको हो। विभागका अनुसार आइइएमआइएसमा रहेको विद्यार्थी विवरणकै आधारमा विद्यालयहरूले दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक, प्रतिविद्यार्थी लागत अनुदानलगायत विभिन्न शैक्षिक अनुदान प्राप्त गर्ने तथा स्थानीय तहमा पठाउने व्यवस्था छ ।
तर केही विद्यालयमा कक्षाकोठामा उपस्थित विद्यार्थीको संख्या र आइइएमआइएसमा रहेको विद्यार्थी विवरण फरक देखिएको विभागले जनाएको छ। यस्तो अवस्थाले विद्यालयमा आर्थिक अनियमितता हुन सक्ने भन्दै विभागले वास्तविक विद्यार्थीको विवरण मात्रै प्रणालीमा राख्न निर्देशन दिएको हो।
विभागले कक्षाकोठामा नियमित उपस्थित विद्यार्थी र आइइएमआइएसमा रहेको विद्यार्थी विवरण फरक भएमा नियमित अध्ययनरत विद्यार्थीको विवरण मात्र कायम राखी अन्य विद्यार्थीलाई आइइएमआइएसबाट ‘नट इन स्कुल’ गरी हटाउन भनेको छ।
त्यस्तै, कक्षाकोठामा नियमित उपस्थित विद्यार्थीको अभिलेख आइइएमआइएसमा नरहेको पाइएमा त्यस्ता विद्यार्थीको विवरण आइइएमआइएसमा अद्यावधिक गर्न निर्देशन दिइएको छ।
विद्यार्थी विवरणमा हुने अनियमितता रोक्न विद्यालयका प्रधानाध्यापक, आइइएमआइएस फोकल पर्सन तथा लेखासम्बन्धी काम गर्ने शिक्षकरकर्मचारीलाई प्रमुख जिम्मेवार बनाइएको विभागले स्पष्ट पारेको छ।
विभागले वास्तविक विद्यार्थी विवरण २०८३ असोज मसान्तसम्म अद्यावधिक गर्न विद्यालयहरूलाई अनुरोध गरेको छ । विद्यार्थी विवरणमा गलत तथ्यांक राखेमा प्रचलित कानुनअनुसार दण्डनीय हुने चेतावनीसमेत दिइएको छ।
शिक्षा विभागले विद्यार्थी विवरण सत्यापनका लागि स्थानीय तहलाई समेत समन्वय गर्न आग्रह गरेको छ। विभागका अनुसार विद्यालयको आइइएमआइएसमा रहेका विद्यार्थी संख्या लगायतका विवरण सार्वजनिक रूपमा हेर्न सकिने गरी डेटा पोर्टलमा राखिएको छ।
यस निर्देशनसँगै विद्यार्थीको वास्तविक संख्याभन्दा बढी विवरण देखाएर सरकारी अनुदान लिने सम्भावित विकृति नियन्त्रण गर्ने प्रयासका रूपमा विभागको कदमलाई हेरिएको छ।




