काठमाडौं । हिन्दुहरुको सबैभन्दा ठूलो चाड बडादशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ ।
सरकारले अग्रिम टिकट बुकिङ खुला गरेपछि छिटो टिकट लिनका लागि यात्रुहरु रातिदेखि नै काउन्टरअघि लाइनमा बसेका थिए ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
टिकट पाउन कठिन हुने जिल्लाका यात्रुहरु भने गएरातिदेखि नै लाइनमा बसेका थिए । नयाँबसपार्कमा रहेका टिकट काउन्टरमा बिहीबारराति देखि नै यात्रुहरु लाइनमा बस्न थालेको यातायात व्यवसायीहरुले जनाएका छन् ।
दशैंको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कस्थित लोत्से बहुउद्देश्यीय प्रा.लि.ले नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेको छ ।


