काठमाडौं । गोरखा जिल्लास्थित बुढीगण्डकी नदीमा आकस्मिक बाढी आएको छ ।
चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
बाढीका कारण गोरखाको आरुघाटसम्मका क्षेत्रमा क्षति पुर्याउनसक्ने आशंका गरिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेको छ ।
चुमनुम्ब्रीबाट आउने नदीमा बाढी आएपछि त्यसले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम रहेको जनाइएको छ ।
मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाबाट पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्कता अनपाउन आग्रह गरेको छ । यो बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घन्टा लाग्ने अनुमान छ ।
बुढीगण्डकी मनास्लु हिमाल हुँदै बगेर आउँने खोला हो । बाढी के कारणले आयो भन्ने अझैसम्म खुल्न सकेको छैन ।
हिमाली क्षेत्रमा पानी परेको रेकर्डसमेत नभएकाले कुनै स्थानमा बाँध फुटेर वा नदी छेकिएर आकस्मिक बाढी आएको हुनसक्ने अनुमान छ ।


