आज बडादसैंको पहिलो दिन घटस्थापना, यसरी गर्नुपर्छ शैलपुत्रीको पूजा

काठमाडौं । हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व बडादसैं सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैंको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरी पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ । 

नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात जौ रोपेर जमरा राख्ने गरिन्छ । 

यव अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाउने प्रचलन छ । 

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यो दिनलाई घटस्थापना भनिएको हो । घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गाको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

दुर्गा पक्षको पहिलो दिन शैलपुत्री देवीको पूजा गर्ने गरिन्छ । माता शैलपुत्री हिमालयकी छोरी हुन् । शैल भन्नाले अडिग र दृढताकी प्रतीक मानिन्छ । शैलपुत्रीलाई वृषोरुपा, सती, हेमवती, उमाका नामले समेत चिनिन्छ । घोर तपस्या गर्ने माता शैलपुत्री पशुपन्छी, जीवकी रक्षक समेत मानिन्छिन् । 

माता शैलपुत्री सेतो वस्त्र धारण गरेर साँढेमाथि चढेकी हुन्छिन् । दाहिने हातमा त्रिशूल, देब्रे हातमा कमल, निधारमा अर्धचन्द्राकार चन्द्र भएकी शैलपुत्रीलाई स्नेह, करुणा, धैर्य र इच्छाशक्तिकी प्रतीक मानिन्छ । 

शैलपुत्रीको पूजा गर्दा सेतो रंगको वस्तुको प्रयोग गर्नुपर्छ । किनकि शैलपुत्रीको प्रिय रङ सेतो हो । पूर्व या उत्तर दिशा फर्किएर पूजा गर्ने स्थानमा रातो कपडा बिच्छ्याएर दुर्गाको तस्बिर स्थापित गरी सेतो चन्दन, हल्दी, अक्षता, सिन्दुर, पान सुपारीले पूजा गर्नुपर्छ । धूप, दीप लगाएर ‘सर्वमंगल मांगल्ये शिवे सवार्थ साधिके शरण्येत्र्यंबके गौरी नारायणी नमोस्तुते’ भन्ने मन्त्र जप्नुपर्छ । 

माता शैलपुत्रीको बीज मन्त्र

ह्रीं शिवायै नमः, पूजा मन्त्र ओम देवी शैलपुत्र्यै नमः 

र ध्यान मन्त्र 
वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम् ।
वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम् ।।

हो । 

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update