बडादशैंको दोस्रो दिन आज माता दुर्गाको दोस्रो रुप ब्रम्हचारिणी देवीको पूजा आरधना गरिदैछ । माता ब्रम्हचारिणी देवीको नाममा नै उनको शक्तिको महिमा वर्णन छ ।
ब्रम्हको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने अर्थात तपको आचरण गर्ने शक्तिस्वरुपा देवीका रुपमा ब्रम्हचारिणी देवीलाई लिइन्छ । ब्रम्हचारिणी देवीको पूजा गर्नाले तप, त्याग, संयम, सदाचार आदि वृद्धि हुने जनविश्वास रहँदै आएको छ ।
जीवनका कठिनभन्दा कठिन अवस्थामा पनि मानिस आफ्नो पथबाट विचलित हुँदैन । नवरात्रिको दोस्रो दिन पूजा गरिने ब्रम्हचारिणी देवी सृष्टिमा ऊर्जाको प्रवाह, कार्यकुशलता र आन्तरिक शक्तिमा विस्तारकी जननी हुन् । उनी यस लोकका समस्त चर र अचर जगतकी विद्याकी ज्ञाता हुन् ।
सेतो वस्त्र धारण गरेकी, एक हातमा अष्टदलको माला र अर्को हातमा कमण्डलु लिएकी देवी ब्रम्हचारिणी हुन् । असाध्यै सादा र भव्य स्वरुप भएकी ब्रम्हचारिणीले भक्तहरुलाई आफ्नो सर्वज्ञसम्पन्न विद्या दिएर विजयी बनाउँछिन् भन्ने विश्वास गरिन्छ ।
अरु देवीको तुलनामा ब्रम्हचारिणी अतिसौम्य, क्रोधरहित र तत्काल वरदान दिने देवी मानिन्छिन् । हजारौं वर्षको तपस्यापछि उनको नाम ब्रम्हचारिणी भएको शास्त्रमा उल्लेख छ । तपस्याको अवधिमा केही वर्षसम्म उनले निराहार ब्रत गरेकी थिइन् ।
पहेँलो वा सेतो रंगको कपडा लगाएर पन्चामृतले स्नान गराएर अक्षता, चन्दन र कमलको फूलले ब्रम्हचारिणीको पूजा गर्नुपर्छ । माताको आशिर्वादले हर कार्य पूरा हुने र परिवारमा सुख–शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहिआएको छ । देवीको आरधना गर्नाले जीवनमा संयम, बल, सात्विक र आत्मविश्वास वृद्धि हुन्छ ।
बडादशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीको भीड छ ।
उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तजनको घुइचो छ ।


