काठमाडौं । बडादसैंको तेस्रो दिन आज चन्द्रघन्टा देवीको पूजा अर्चना गरिदैछ । चन्द्रघन्टादेवीलाई कल्याणकारी र शान्तिदायकका रुपमा मान्ने गरिन्छ । आजको दिनमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ ।
चन्द्रघन्टा देवीलाई खुसी बनाई कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता छ । मस्तकमा घण्टीको जस्तै आकार भएको अर्धचन्द्र भएकाले उनलाई चन्द्रघण्टा देवी भनिएको हो । सुनजस्तो पहेंलो शरीर र दसवटा हात भएकी देवी चन्द्रघन्टा देवी भएको देवीभागवतमा उल्लेख छ ।
हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुवाण, कमल पुष्प, अक्षमाला धारण गरी वरद तथा अभय मुद्रा प्रदर्शित देवी चन्द्रघण्टाको वाहन बाघ हो ।
चन्द्रघन्टा देवीको घन्टको ध्वनिले भूतप्रेत भाग्ने र आसुरीभाव भएका शत्रुहरू परास्त हुने जनविश्वास छ । चन्द्रघण्टाको उपासना गर्नाले सिंह या बाघको जस्तै पराक्रम तथा निडर हुनुका साथै सद्गुण, वीरता तथा विनम्रताको विकास भई शरीरमा कान्ति र गुणको वृद्धि हुने विश्वास गरिन्छ ।
चन्द्रघन्टादेवीको पूजा गर्नुअघि केसर जलले स्नान गराउनुपर्छ । त्यसपछि सुनौलो रंगको कपडा लगाइदिएर, कमल र पहेँलो गुलाफको फूल अर्पण गर्नुपर्छ । पञ्चामृत, मिस्री र मिठाइ आदी फलफूल चढाएर
पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्यं चंद्रघण्टेति विश्रुता ।।
मन्त्र उच्चारण गर्नुपर्छ ।
दैत्यहरुको आतंक बढेपछि माता दुर्गाले चन्द्रघन्टा देवीको अवतार लिएको शास्त्रमा उल्लेख छ । त्यसबेला महिषसुरको देवतासँग भयंकर युद्ध चलिरहेको थियो । महिषासुर देवराज इन्द्रको सिंहासन प्राप्त गर्न चाहन्थ्यो ।
महिषसुरको इच्छा देवताहरुले थाहा पाएपछि ब्रम्हा, विष्णु र महेश्वरका सामू पुगे । ब्रम्हा विष्णु र महेश यो सुनेर क्रोत्र प्रकट गर्न थाले र मुखबाट तीन प्रमुख ऊर्जा निस्किए । त्यो ऊर्जाबाट एक देवी उत्पत्ति भइन् ।
ती देवीलाई भगवान शंकरले आफ्नो त्रिसुल, विष्णुले आफ्नो चक्र र इन्द्रले आफ्नो घन्टा, सूर्यले आफ्नो तेज, तलवार र सिंह प्रदान गरे । त्यसपछि चन्द्रघन्टाले महिषासुरको वध गरेर देवताहरुको रक्षा गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
चन्द्रघण्टा देवीको पूजासँगै आज नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी, पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको छ ।


