काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिकाले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ।
गाउँपालिकाले चाडपर्वका समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, अनियमित व्यापार तथा उपभोक्तामाथि हुने ठगी नियन्त्रण गर्न व्यवसायीलाई सचेत गराउँदै सूचना नै जारी गरेको छ।
शिवपुरी गाउँपालिकाले चाडपर्वका अवसरमा उपभोक्ताको आवतजावत र दैनिक उपभोग्य वस्तुको खरिदबिक्री बढ्ने भएकाले बजारमा हुन सक्ने अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिने जनाएको छ।
गाउँपालिकाका अनुसार बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले बजार अनुगमन गर्न लागिएको हो। अनुगमनका क्रममा व्यवसायीहरूले प्रचलित नियमअनुसार व्यवसाय सञ्चालन गरे–नगरेको, आवश्यक दर्ता तथा नवीकरण पूरा गरे–नगरेको लगायतका विषयमा निरीक्षण गरिनेछ।
गाउँपालिकाले विशेषगरी बजार क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका तर व्यवसाय दर्ता नगरेका व्यवसायीलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ। यसअघि दर्ता गरिसकेका तर नवीकरण गर्न बाँकी रहेका व्यवसायीलाई समेत आवश्यक प्रक्रिया पूरा गरी व्यवसाय नवीकरण गर्न अनुरोध गरिएको छ।
गाउँपालिकाले दर्ता तथा नवीकरणसम्बन्धी प्रमाणपत्र प्राप्त गर्न बाँकी रहेका व्यवसायीलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, बजार अनुगमन कार्यलाई सहज र प्रभावकारी बनाउन सबै व्यवसायी तथा सरोकारवालाको सहयोग आवश्यक रहेको जनाएको छ।
चाडपर्वको समयमा उपभोक्तालाई सहज रूपमा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन, व्यापारिक गतिविधिमा पारदर्शिता कायम गर्न र उपभोक्ताको हित संरक्षण गर्न गाउँपालिकाले सबै व्यवसायीलाई जिम्मेवार भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।


