अर्नब चक्रवात क्रमशः कमजोर, तर केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित भएर नेपालतर्फ अघि बढेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ का कारण देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

अर्नब चक्रवात क्रमस कमजोर हुँदै गए पनि यसको आंशिक असरका कारण नेपालमा बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपात गराउने सम्भावना रहेको महाशाखाको भनाई छ । 

चक्रवात ‘अर्नब’ बुधबार बिहान भारतको आन्ध्रप्रदेश हुँदै जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमशः कमजोर हुँदै गएको बताइएको छ । 

सोही कारण ‘अत्यन्त भीषण चक्रवाती आँधी’ को श्रेणीबाट घटाएर ‘भीषण चक्रवाती आँधी’ श्रेणीमा झारिएको छ । आज यो थप कमजोर हुनेछ । नेपालमा आजैदेखि बादल लाग्न सुरु भएको छ भने भोलि यसको प्रभाव झनै बढ्ने अनुमान छ । 

महाशाखाका अनुसार यसको प्रभावले कात्तिक १२ गते बिहीबार साँझदेखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । 

कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा बाँकी हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहको छ । 

मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update