एजेन्सी । इजरायलमा भएको आम निर्वाचनको मतगणतना अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी गादी आइजनकोटको गठबन्धनबीच कडा टक्कर देखिएको छ ।
यद्यपि दुवै गठबन्धनले बहुमत ल्याउने सम्भावना कमजोर देखिएको छ । करिब ८५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी र उनको धुर दक्षिणपन्थी तथा अति–रुढीवादी यहुदी सहयोगी गठबन्धनले ५३ सिट जित्ने अनुमान गरिएको छ ।
इजरायलको संसदमा १२० सिट छन् । त्यसैले सरकार बनाउनका लागि ६१ सिटको आवश्यकता पर्छ । आइजनकोटको याशर पार्टी र उनको गठबन्धनका अन्य तीन यहुदी विपक्षी पार्टीले ४८ सिट जित्ने देखिएको छ ।
दुवै नेताले सरकार गठनका लागि गठबन्धन बनाउने कोशिस गर्ने बताएका छन् । अरब पार्टीहरुले १९ सिटमा जित हासिल गर्ने देखिएको छ ।
यो इजरायलको इतिहासमै अरब पार्टीले पाएको सबैभन्दा बढी सिट हो । अब यी पार्टी त्यहाँको सरकार निर्माणमा किंगमेकरका रुपमा देखिने भएका छन् ।
तर एउटा यहुदी पार्टीबाहेक सबैले कुनै पनि गठबन्धनमा सामेल हुने सम्भावना कम रहेको बताएका छन् ।
सैनिक, कूटनीतिज्ञ र अस्पतालमा भर्ना भएका विरामीसहित विभिन्न समूहका ४ लाख ३० हजार देखि ४ लाख ८० हजार आसपास मतपत्र गन्न बाँकी रहेको बताइएको छ । त्यसैले निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्नेछ ।



