काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को दुई दिने भारत भ्रमणमा हवाई रुटसम्बन्धी महत्वपूर्ण सहमति भएको छ ।
भारतको दुईदिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब १ घन्टा एक्लाएक्लै कुराकानी गरेका थिए । जसमा दुई देशबीचको सम्बन्धलाई आर्थिक विकास, पूर्वाधार र क्षेत्रीय कनेक्टिभिटीमा अघि बढाउने सहमति भएको हो ।
यसक्रममा भारतले भैरहवाबाट हवाई प्रवेश मार्ग प्रयोग गर्न दिने भएको छ । योसँगै भारत मोदीको गृहप्रदेश गुजरात र ओडिसाका बन्दरगाह उपयोग गर्न दिन तथा सीमापार यातायात सञ्जाल विस्तार गर्न समेत सहमत भएको छ ।
दुई देशबीच ऊर्जा, व्यापार, डिजिटल प्रविधि, पर्यटन र खेलकुदजस्ता १० वटा क्षेत्रमा सहकार्य गर्ने सहमति भएको दुई देशद्वारा जारी संयुक्त वक्तव्य र नेपाल–भारत संयुक्त दूरदृष्टि दस्ताबेज’ मा उल्लेख छ ।
यसअघि नेपालबाट भैरहवा हुँदै लखनउतर्फको रुटमा विमान जान मात्रै पाउने भए पनि अब भने सो रुट भएर नेपाल प्रवेश गर्न समेत पाउने भएका छन् । यो सहमतिसँगै लामो समयअघि निर्माण भएर अन्योलमा रहेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहज हुनेछ ।
नेपालले लामो समयदेखि यो रुटमा विमान सञ्चालन अनुमति मागिरहेको थियो । हालसम्म भारतबाट नेपालमा आउने हवाई अनुमति रक्सौल वीरगन्जको आकाशमा मात्रै उपलब्ध रहेको छ ।
दुई देशबीच जल तथा मौसम विज्ञानसम्बन्धी तथ्यांक, हिमताल अनुगमन र पूर्वसूचनाको वास्तविक समयमा सूचना आदानप्रदान संस्थागत गर्ने सहमति पनि भएको छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, विपत् उत्थानशील पूर्वाधारका लागि गठबन्धन, इसिमोड र अन्तर्राष्ट्रिय बिग क्याट अलायन्सलगायतका बहुपक्षीय संगठनहरूभित्र सहकार्य बढाउने पनि समझदारी बनेको छ ।




