देउवा कांग्रेसको लुम्बिनी प्रदेश सभापति बने रोज राणा

दाङ । पूर्वमन्त्री रोज थापा (रोज राणा) नेपाली कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा सर्वसम्मत चयन भएका छन् । 

दाङको देउखुरीस्थित पाखापानीमा गएराति सम्पन्न लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत चयन भएको कांग्रेसको देउवा समूहले जानकारी दिएको छ । 

प्यूठानबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थापा दुई पटक लुम्बिनी प्रदेश सरकारमा दुई पटक मन्त्री बनेका थिए । 

पहिलो पटक यातायात मन्त्री र दोस्रो पटक शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थापा यसअघि दुई कार्यकाल नेपाली कांग्रेस प्यूठानको क्षेत्रीय सभापति पनि भइसकेका छन् ।

अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्य चयनका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन उद्घाटन समारोहमा नेताहरु शेरबहादुर देउवा, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, एनपी साउद, डा.प्रकाशशरण महत, रामजनम चौधरी, जीतजंग बस्नेत, रंगमती शाही, लक्ष्मी खतिवडा, भुपेन्द्र राई, केदार कार्कीलगायतका नेताहरु सहभागी थिए ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update