काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन र युरोपेली संघसहित १४ देशमाथि फेरि भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।
चीनमा शिखर बैठक सकेर फर्किएको एक साताभित्रै ट्रम्पले आफ्नो प्रमुख व्यापार नीति अन्तर्गत भन्सार शुल्क बढाएका हुन् ।
जसमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म भन्सार शुल्क लाग्नेछ भने भियतनाममाथि ३५ प्रतिशतसम्म भन्सार थपिनेछ ।
यो बाहेक अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाउने घोषणा ट्रम्पले गरेका हुन् । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अनुमान गरिएको छ ।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेका भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा अन्य देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो । यसलगत्तै फेरि नयाँ भन्सार शुल्क घोषणा गरिएको हो ।
नयाँ शुल्क चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमा लागू हुने छ ।




