पोखरा पुगेर उर्जामन्त्रीले भने– विद्युत् खपत बढाउन अग्रसरता लिनूस्

 

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उपभोक्ताले गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा राखे ।

चुहावट नियन्त्रण, पूर्वाधार स्तरोन्नति र विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ । 

प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा ५ लाख ३५ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेकोे छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा १ अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन गरेको छ । यो लक्ष्यको ९९.१ प्रतिशत हो । 

त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा ट्रान्सफर्मर जल्ने घटनामा ७२.५ प्रतिशतभन्दा बढी कमी आएको छ । गत  आर्थिक वर्ष २०८२/८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा जलेका छन्। मन्त्री श्रेष्ठले यसलाई वितरण प्रणाली सुधारको सकारात्मक संकेतका रूपमा लिएका उनको सचिवालयले जानकारी दिएको छ ।

प्रदेशमा १३ वटा वितरण केन्द्र, ४ हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३/११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ। तर, विद्युत् चुहावट ६।७८ प्रतिशत छ, जुन चालु आर्थिक वर्षको ६।६५ प्रतिशत लक्ष्यभन्दा केही बढी हो। यसलाई निर्धारित सीमाभित्र ल्याउन प्रभावकारी कदम चाल्न उनले निर्देशन दिए ।

प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशमा विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढीपहिरोले ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुर्‍याएको छ। क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा मा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले कार्यालयको कार्यप्रगति, सेवा प्रवाहको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने विषयबारे जानकारी गराए ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update