रास्वपा सभापति लामिछानेद्वारा ड्रिलिङ साइटको स्थलगत अवलोकन, मिथेन उत्खननलाई उच्च प्राथमिकता दिने

दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित मिथेन ग्यास खानीको ड्रिलिङ साइटको स्थलगत अवलोकन गरेका छन् । 

सो क्रममा लामिछानेले खानीको वर्तमान अवस्थाबारे समेत जानकारी दिँदै पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकता दिएर काम अघि बढाउने जानकारी दिए । 

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमपछि सभापति लामिछाने दैलेख पुगेका थिए । 

दुई वर्षअघि नै सो खानी क्षेत्रमा ४ हजार १३ मिटर गहिराईसम्म ड्रिलिङ पूरा भएको थियो । तर पछिल्लो एक वर्षयता सरकारले काममा चासो नदिँदा करोडौं मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न सुरु भएको छ । 

लामिछानेले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले लामो समयदेखि रोकिएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

प्रयोगशाला परीक्षणबाट यहाँ ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएको छ । जसले नेपालको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्छ । 

नेपाल र चीनबीचको ससम्झौता अनुसार २०७६ साल फागुनमा विस्तृत अन्वेषण सम्झौतामार्फत ४५ रोपनी जग्गा अधिग्रहण गरी यो परियोजना अघि बढाइएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update