काठमाडौं । म्यानमारको सेनाले देशको केही स्थानमा अन्धधुन्ध बमबारी गर्दा दर्जनौंको मृत्यु भएको छ । यसरी भएका हमलामध्ये केही विवाह समारोह स्थल र केही स्कुल समेत रहेका छन् ।
उद्दारकर्मीहरुले देशको दक्षिणी शान राज्यको मोए बाय गाउँमा विवाह समारोहमा भएको हमलामा कम्तीमा पनि २४ जनाको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् ।
म्यानमारको निर्वासित नेशनल युनिटी गभर्नमेन्ट (एनयूजी) का अनुसार बिहीबार मध्य म्यानमारको मगवे क्षेत्रको इन योन गाउँमा स्कुलमाथि हवाई हमला भएको थियो । जसमा विद्यार्थी, युवा बौद्ध भिक्षुहरु र केही शिक्षकसहित २० जनाको मृत्यु भएको थियो ।
म्यानमारको सैनिक सरकारले यो घटनाबारे कुनै टिप्पणी गरेको छैन । सेनाले शनिबार रखाइन राज्यको म्राउक–यू शहरमा पनि हवाई हमला गरेको छ ।
स्थानीय समयअनुसार राति शहरको आवासीय क्षेत्रमा गरेको बमबारी गर्दा १० जनाभन्दा बढीको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।




