प्रधानमन्त्री शाहले उद्घाटन गर्ने दशौँ राष्ट्रिय खेलकुदलक्षित समग्र सुरक्षाको अवस्था कस्तो छ ?

 

सुर्खेत। इतिहासमै पहिलोपटक कर्णाली प्रदेशमा आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह तथा समग्र प्रतियोगिताको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सुर्खेतमा निरन्तर विशेष सुरक्षा समन्वय बैठक भइरहेको छ।

​आगामी मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ।

अति विशिष्ट व्यक्तिको आगमन, खेलाडी तथा अफिसियलको आवास र दर्शकको ठूलो उपस्थितिलाई मध्यनजर गर्दै बैठकले बहुआयामिक सुरक्षा रणनीतिमाथि गहन छलफल गरेको हो ।

बैठकले प्रतियोगिता अवधिभर सबै सुरक्षा निकायबीच निरन्तर समन्वय, द्रुत सूचना आदानप्रदान र परिस्थितिअनुसार संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

​सुरक्षा योजनाअन्तर्गत रङ्गशालाको प्रवेश तथा निकास मार्गको व्यवस्थापन, भीड नियन्त्रण, पार्किङ तथा ट्राफिक व्यवस्थापन, खेलस्थलमा सीसीटीभी निगरानी, नियमित गस्ती तथा अति विशिष्ट पाहुनाको एस्कर्टिङलाई उच्च प्राथमिकतामा राखिएको छ ।

​मङ्सिर २७ गतेसम्म सञ्चालन हुने यस बृहत् खेलकुद महोत्सवमा सात प्रदेशसहित तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी कुल ११ टोलीका खेलाडीहरू सहभागी छन् । 

बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही, सोही प्रदेशका सामाजिक विकास मन्त्री जीत बहादुर मल्ल, प्रमुख सचिव राधिका अर्याल लगायत सरोकारवालाको सहभागिता थियो ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update