Odapalika - The Fourth Estate - चौथो अंग
नलगाड नगरपालिकाको मुलीमा जस्तापाता ठोकिरहेका प्रदीप पौडेलहरू

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोटमा गएको भूकम्पबाट क्षति पुगेको स्थानमा अस्थाई टहरा निर्माण गरिरहेको छ । 

पौडेलको नेतृत्वमा गएको टोलीले हाल नलगाड नगरपालिकाका विभिन्न वडामा अस्थायी टहरा निर्माण गरिरहेको छ । नलगाड नगरपालिकाको वडा नम्बर ५ मा उनीहरुले हालसम्म ९० वटा अस्थाई टहरा निर्माण सम्पन्न गरिसकेका छन् । 

पहिलो चरणमा उक्त वडामा १०० वटा टहरा निर्माणको तयारी गरेकामा हालसम्म ९० वटा टहरा निर्माण सम्पन्न भएका छन् । वडा अध्यक्ष ओमराज वली अस्थाई टहरा निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको बताउँछन् । 

‘भूकम्पका कारण हाम्रो वडाका ९०६ पूर्ण रुपमा क्षति पुगेका छन्, उक्त घरमध्ये नेपाली कांग्रेसले १०० वटा घर निर्माण गर्ने जिम्मा लिएमध्ये हालसम्म ९० टहरा बनिसकेका छन्’, उनले भने, बाँकी घर स्थानीय श्रमदानबाट हामी आफैले निर्माणको तयारी थालिसकेका छौँ ।’ 

उनले वडाले बाँकी रहेका ८०६ वटा अस्थाई टहरा निर्माणको तयारी गरेको भएतापनि केही थान जस्तापातको अभाव हुने अनुमान गरिएको बताए । काँग्रेस नेता एवं सांसद प्रदीप पौडेलको नेतृत्वमा हाल ५० जनाभन्दा बढी श्रमिकले वडाका रघुनाथ, ऐरारी, पोखरा, मुलीलगायत स्थानमा अस्थायी आवास निर्माण गरिरहेका छन् । 

नेता पौडेल आफैँ स्थानीयका घरमा जस्तापाता ठोक्नेदेखि निर्माण सामग्री बोक्नेसम्मका काम गरिरहेको वडाअध्यक्ष  बताउँछन् ।

pradip-paudel-nalafad1700822481.jpg

श्रमिकका साथमा पौडेलसहित गण्डकी प्रदेशसभा सदस्य डिल्लीराज सुवेदी, पालुङटार नगरपालिकाका पूर्वप्रमुख समेत रहेका इन्जिनियर दीपकबाबु कँडेल, कांग्रेस जाजरकोटका नेता महेन्द्र शाहलगायत स्थानीय नेता तथा कार्यकर्ताहरु आवास निर्माणमा सक्रिय रहेको अध्यक्ष वलीले जानकारी दिए । 

उनका अनुसार अस्थाई आवास निर्माणका लागि पालिकाले जस्तापाता सहयोग गरेको छ भने बाँकी सम्पूर्ण खर्च नेपाली कांग्रेसले गरिरहेको छ । अध्यक्ष वलीले भूकम्प प्रभावितका लागि राहत वितरणभन्दा पनि अस्थाई आवास निर्माणमा वडा केन्द्रीत भएको जानकारी दिए । 

‘भूकम्प पश्चात हामीले त्रिपाल, केही थान ब्ल्याङकेट तथा चामल वितरण गर्यौँ, अहिले राहत वितरणभन्दा पनि हाम्रो प्राथमिकता अस्थाई आवास निर्माणमा छ’, उनले भने, ‘चिसोको मौसमलाई ध्यानमा राख्दै हामीले आवास निर्माणमा जोड दिएका हौँ ।’ 

१ हजार घर निर्माणको तयारी 

कांग्रेसले जाजरकोट भूकम्पले क्षति पुगेका विभिन्न पालिकामा १ हजार अस्थाई आवास निर्माणको घोषणा गरेको थियो । उक्त घोषणा अनुसार सांसद पौडेलको नेतृत्वमा हाल अस्थाई आवास निर्माणको काम भइरहेको छ । कांग्रेसले मंसिर अन्तिमसातासम्म तोकिएबमोजिमका अस्थाई आवास निर्माण सक्ने तयारी भएको जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update