Odapalika - The Fourth Estate - चौथो अंग
वडा अध्यक्षले चाहे गर्न सक्छन्, नमूना हुन् तामाकोशीका सन्तोष 

रामेछाप । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष निर्वाचित भएपछि निकै कम जनप्रतिनिधि यस्ता भेटिन्छन्, जो आफ्नो गाउँसमाजमा श्रमदान गर्न अघि सर्छन् । 

रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का वडा अध्यक्ष सन्तोष पौडेल कहिले साबेल र कोदालो बोकेर हिँडेका भेटिन्छन् । कहिले एकल महिला र एकल पुरुषको घरमा छाना छाउँदै हुन्छन् । कहिले कसैको घरमा वायरिङ गर्दै हुन्छन् । 

उनी कहिले सडक खन्दै हुन्छन् त कहिले बिजुलीको पोल बोक्दै हुन्छन् । अनि कहिले बिजुलीको पोल गाड्ने खाल्डो खन्दै हुन्छन् भने कहिले  तार तान्नेहरुका साथ लागेर होस्टेमा हैंसे गरिरहेका हुन्छन् । 

सरल सहयोगी स्वभावले वडाध्यक्ष पौडेललाई नमुना जनप्रतिनिधि बनाएको छ । माध्यमिक विद्यालयको प्रधानाध्यापकको जागिर बीचमै नै छाडेर उनी स्थानीय तहको राजनीतिमा होमिएका हुन् । वडाध्यक्ष निर्वाचित भएदेखि नै निरन्तर श्रमदानमा जुटिरहेका छन् । 

‘नागरिकका आवश्यकता धेरै छन्, वडा कार्यालयसँग बजेट अति न्यून हुन्छ, त्यसैले धेरै काम श्रमदानबाट नै गर्ने गरेका छौँ,’ उनी भन्छन् । वडाध्यक्ष नै काम गर्न अघि सर्दा गाउँलेलाई सजिलो भएको उनले अनुभव गरेका छन् । त्यसैले सामूहिक काममा जनसहभागिता बढ्ने गरेको छ ।

उनी सुनाउँछन्– नागरिकका साना साना अपेक्षा हुन्छन् । घरमा बिजुली बलिरहोस्, सडकमा यातायातका साधन नियमित गुडिरहोस्, वडाको सिफारिस सजिलै पाइयोस्, त्यो पनि भरसक घरमा नै पाइयोस्, दीर्घरोगीको औषधि सजिलै पाइयोस्, धारामा पानी नियमित आओस् । ‘जनप्रतिनिधिले के छ, कसो छ भनेर बोलाइदेओस् ठान्छन् । नागरिकका यिनै भावना सम्बोधन गर्ने प्रयत्न गर्दै काम गरिएको छ,’ पौडेल भन्छन् । 

वर्षायाममा वडाध्यक्ष पौडेल प्राय गल र साबेल बोकेर हिँडिरहेका भेटिन्छन् । ‘कच्ची सडक छ, ठाउँ ठाउँमा खाडल हुन्छ चिप्लिने भएकाले गाडी चल्नै गाह्रो हुन्छ । ‘हामी जनप्रतिनिधिहरू कहाँ बाटो बिग्रिएको छ, त्यतै साबेल र कोदालो बोकेर पुग्छौं, स्थानीयले पनि सघाउँछन्, बिना पैसा समस्या समाधान हुन्छ, बाटो खुल्छ,’उनले भने । 

अहिले पौडेल लगायतको जनप्रतिनिधिको टोली गाउँमा बिजुलीको तार फेर्ने काममा खटिइरहेको छ । पुरानो जीर्ण तारका कारण बारम्बार विद्युत आपूर्ति अवरुद्ध हुने समस्या भएपछि विद्युत प्राधिकरणसँग समन्वय गरेर वडा कार्यालयको खर्चमा तार ढुवानी गरी प्लास्टिक कोटेड कालो तार फेर्ने काम भइरहेको छ । 

असोजदेखि नै जनप्रतिनिधिको टोली लगातार त्यही काममा छ । ‘दसैं अघि र दसैंतिहारका बीचमा अलिकति काम गरियो, बाँकी काम तिहारपछि लगातार गरिरहेका छौं, आज १२ दिनको श्रमदान हो,’ शनिबार वडाध्यक्ष पौडेलले भने । 

वडाको सबै तार नफेरी र सबै घरमा विद्युत नपु¥याएसम्म यो कामलाई निरन्तरता दिइने उनले बताए । ‘हामी जनप्रतिनिधि सबै टोलमा पुग्छौँ, तार तान्ने, खाडल खन्ने, पोल गाड्ने काममा खट्छौं । जुन टोलमा पुग्यो त्यही टोलका स्थानीय पनि श्रमदानमा निस्किन्छन्, राम्रो सहयोग पाएका छौँ, राम्रो श्रमदान जुटेको छ,’उनले भने । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update