Odapalika - The Fourth Estate - चौथो अंग
रबिनाले जन्माइन् एकैपटकमा ३ वटा छोरा, गाउँपालिकाले उपहार दियो लैनो गाई

झापा । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन समस्या भएपछि गाउँपालिकाले सहयोग गरेको छ ।

उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या देखिएको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलबती राजवंशीले जानकारी दिइन् ।

‘उनको परिवार एकदमै गरिव र विपन्न हो । दैनिक जालामजदुरी गरेर जीवन निर्वाह गर्दै आएको थियो । सुकुम्बासी परिवार पनि हो । उनलाई गर्भवती भएदेखि नै स्वाथ्य परीक्षण लगायतमा गाउँपालिकाले सहयोग गरिरहेको थियो,’ अध्यक्ष राजवंशीले वडापालिकासँग भनिन् ।

रबिना ताजपुरिया सुत्केरी भएर घर फर्केर आउँदा घरमा खाने सामान पनि भएको अध्यक्ष राजवंशीले बताइन् ।

सुत्केरी भएर घर आउँदा उनको घरमा खाने सामान पनि थिएन । बच्चा र आमाको न्यानो कपडा पनि थिएन । सुरुमा हामीले खाने सामान र न्यानो कपडा पनि थिएका थियौं,’ अध्यक्ष राजवंशीले भनिन् ।

उनले गौरीजञ्ज गाउँपालिकामा नै पहिलोपटक तीनवटा बच्चा रबिनाले नै जन्माएको बताइन् । यस्तै, बच्चा हुर्काउन समस्या भएपछि गाउँपालिकाले लैनो गाईं किनेर रबिनाको परिवारलाई निःशुल्क उपलब्ध गराएको पनि उनको भनाइ छ ।

‘हामीले गाउँपालिकाको बजेटबाट ३३ हजारमा एउटा लैनो गाई किनेर दिएका छौं । अब बच्चा र आमालाई पोषिलो खानाको लागि केही सहयोग मिल्छ कि भन्ने अपेक्षा गरेका छौं । उनलाई सहयोग गर्न चाहने सहयोगीहरुसँग पनि सक्ने सहयोग गरिदिन आग्रह गरिरहेका छौं,’ अध्यक्ष राजवंशीले थपिन् ।

रबिनाको परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्बासी वस्तीमा बस्दै आएको छ । उनले विराटनगरको नोबेल मेडिकल कलेजमा तिम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन् । सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान गाउँपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update