Odapalika - The Fourth Estate - चौथो अंग
अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा ललितपुर महानगरको प्रतिवद्धता 

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको जीवनयापनलाई सहज बनाउन लागिपर्ने प्रतिवद्धता जनाएका छन् । 

अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित ¥यालीको समापनसहित पाटन दरबार अवलोकन कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिका समस्या समाधानका साथै उनीहरुको जीवनयापनलाई सहज बनाउन समयसापेक्ष नीति तथा कार्यक्रम अगाडि बढाइने बताए ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि सीप विकास र जीवनयापनका लागि शिक्षाको व्यवस्थापन महानगरले गर्ने विश्वास व्यक्त गरे ।

उनले अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्नका लागि सहजीकरण र समन्वयका माध्यमबाट तीनै तहको सरकारलाई आवश्यक नीति तथा कार्यक्रम बनाउन प्रेरित गर्ने बताए । 

अपाङ्गता भएका व्यक्तिको जिल्ला संयोजक भोजराज श्रेष्ठले नेपालमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको ३२ वर्ष भएको स्मरण गर्नुहुँदै सङ्घीय सरकारले भत्ताबाहेक अरु सुविधा नदिएको गुनासो गरे । 

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नीतिनिर्माण तहदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका व्यक्तिको नेतृत्व स्थापित नभएसम्म विकासले सार्थकता नपाउने भन्दै यसका लागि सबैले हातेमालो गरेर लाग्नुपर्ने बताए ।

महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर हरेक हिसाबले अपाङ्गता मैत्री महानगर हुन लागि रहेको बताउँदै अपाङ्गतामैत्री भौतिक संरचना बनाउने महानगरको नीति रहेको र अपाङ्गताका सवालमा केन्द्रित रहेर महानगरले सचेतना अभियान पनि चलाउने बताइन् ।

२०७८ सालको जनगणनाअनुसार नेपालमा अपाङ्गता भएकाको जनसंख्या २.८ प्रतिशत र ललितपुर महानगरपालिकामा १.६ प्रतिशत रहेको ललितपुर महानगरकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी अधिकृत शोभा खरेलले जानकारी दिइन् ।

१९८१ मा संयुक्त राष्ट्रसंघले डिसेम्बर ३ लाई अपाङ्गता दिवस घोषणा गरेको थियो । अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धन, समावेशीकरण, सशक्तीकरण र अपाङ्गताका विविध सवालमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन् १९९२ बाट मनाउन थालिएको हो । 

यस वर्ष ‘दिगो विकास लक्ष्यप्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update