काठमाडौँ । ललितपुर महानगरमा कोरियन प्रविधिमा आधारित कृषि फार्मको सुरु गरिएको छ । दक्षिण कोरियाको चेओरवन शहरको आर्थिक सहयोगमा महानगरको वडा नं. २७ मा छहारी कृषि एकल महिला फार्मको संचालन सुरु गरिएको हो ।
उक्त फार्म संचालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा महानगरले उक्त फार्मको संचालन छहारी एकल महिला समूहले गर्ने बताएको छ । ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच दुई वर्षअघि भगिनी सम्बन्ध कायम भएको थियो ।
भगिनी सम्बन्ध कायम भएका शहरहरुबीच असल अभ्यास आदानप्रदान अन्तर्गत कोरियन प्रविधिमा आधारित कृषि फार्म निर्माणका लागि चेओरवन शहरले ललितपुर महानगरलाई सहयोग गरेको हो । उक्त फार्म निर्माण गरिएको जग्गा ५ वर्षको लागि लिजमा लिइएको छ । करीब सात रोपनी क्षेत्रफल रहेको उक्त फार्ममा मौसम अनुसारका बिउविजन रोपण गरी कृषि उत्पादन गरिने छहारी कृषि एकल महिला समूहले जनाएको छ ।
ललितपुर महानगपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले कृषि फार्मको निर्माण मितरी सम्बन्ध कायम भएका दुई शहरबीचको असल अभ्यास आदान प्रदानको उत्कृष्ट नमूना भएको बताए ।
यो फार्मको निर्माणले महानगरले कृषि उत्पादनलाई प्राथमिकता दिएको बताउँदै भने, ‘कृषि क्षेत्रको महत्व बुझाउन र यस क्षेत्रमा महिला र युवालाई प्राथमिकता दिन फार्म निर्माणलाई प्राथमिकता दिएका हौंँ । ’ महानगर चेओरवन शहरमा ललितपुरको कला र संस्कृति झल्कने फल्चा (पाटी) निर्माणका लागि इच्छुक भएको बताउँदै त्यसका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
चेओरवन शहरका मेयन ली ह्युन जोनले मित शहरमा कोरियन प्रविधिसहितको कृषि फार्म निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । आफ्नो शहरमा ललितपुरको कला कौशल झल्कने फल्चा बनाउन उत्साहित भएको बताउँदै प्रक्रिया अघि बढाउने प्रष्ट पारे ।
सबैको प्रयासमा आइपरेका समस्याहरु समाधान गर्न सफल भएको बताउँदै ललितपुरवासीलाई कृषि फार्म संचालन गर्न सफल भएकोमा धन्यवाद दिए ।
कोरियन राजदुत पार्क तेडयोङले यो कृषि फार्मले कोरिया र नेपालको सम्बन्ध अझै मजबुत बनाउन मद्दत गर्ने बताए ।
ललितपुर महानगर वडा नं. २७का वडा अध्यक्ष कृष्णहरि महर्जनले चेओरवन शहर र त्यस शहरका नगरवासीलाई धन्यवाद दिए ।
‘ललितपुर शहरको हाम्रो वडामा यति राम्रो फार्म बनाउन सहयोग गर्नु भएकोमा धन्यवाद । हामी यहाँहरुको सहयोगलाई फलदायी रुपमा अघि बढाउनेछौं,’ उनले भने ।
वडाले कृषिलाई युवा, महिला र एकल महिलासँग जोडेर कृषि उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य सहित वडाले काम गरेको बताए ।
छहारी एकल महिला समूहकी अध्यक्ष सविता महर्जनले कृषि उत्पादनमा आत्मनिर्भरता अत्यावश्यक भएको बताइन् । एकल महिलालाई समाजले कमजोर रुपमा प्रस्तुत गर्ने गरेको बताउँदै एकल महिला कमजोर छैनन् भन्ने स्थापित गर्न यो समूह र उक्त समूह मार्फत कृषि फार्म संचालन गरेको बताइन् । कृषिलाई युवासँग जोडेर उत्पादनमा आत्मनिर्भर हुनु अत्यावयक भएको प्रष्ट पारिन् ।






