ललितपुर महानगरले बढाएन बजेट, ल्यायो ७ अर्ब ४८ करोडको

काठमाडौँ । ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले आज नगरसभामा बजेट पेश गरेकी हुन् । महानगरले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट चालु आर्थिक वर्षको बजेटको हाराहारी नै छ । चालु आर्थिक वर्षमा ७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट ल्याइएको थियो ।

यो बजेटमध्ये चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

आगामी आर्थिक वर्षको लागि पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा ललितपुर महानगरको पुँजीगत बजेट ४ अर्ब ५० करोड ७७ लाख रुपैयाँ छ । संघ र प्रदेश सरकारबाट पुँजीगत शीर्षृकमा कम बजेट प्राप्त भएकोले आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षको तुलनामा २७ करोड (६ प्रतिशत) बजेट कम गरिएको उपमेयर बज्राचार्यले बताइन् ।

स्रोत व्यवस्थापन

बजेटका स्रोतमा संघ सरकारबाट १ अर्ब ३६ करोड रुपैयाँ र प्रदेश सरकारबाट १७ करोड ६३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, आन्तरिक स्रोतबाट ३ अर्ब ३५ करोड रुपैयाँ संकलन हुने महानगरको अनुमान छ । अन्तर सरकारी अख्तियारीबाट १ अर्ब ६ करोड रुपैयाँ र महानगरको नगद मौज्दातबाट १ अर्ब ४७ करोड रुपैयाँ व्यवस्था गरिने महानगरको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update