Odapalika - The Fourth Estate - चौथो अंग
‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयोः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताएका छन् । 

संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मोक्तमको निमन्त्रणामा दुबईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएपछि दिएकाे प्रतिक्रियामा उनले सो सम्मेलन नेपालको हितमा रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते युएई प्रस्थान गरेका थिए । 

भ्रमणका क्रममा उनले मङ्सिर १४ गते अबुधाबीस्थित नेपाली राजदूतावासको अवलोकन गरी दूतावासका काम कारबाही, कठिनाइ र चुनौतीलगायतका विषयमा जानकारी लिई संयुक्त अरब इमिरेट्समा रहेका नेपाली श्रमिकसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति, कानूनी प्रतिरक्षा लगायतका सेवा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी छिटो छरितो एवं प्रभावकारीरूपमा प्रवाह गर्न निर्देशन दिएको बताए । संयुक्त अरब इमिरेट्सबाट नेपालमा लगानी भित्र्याउन समन्वयात्मक हिसाबले पहल गर्नसमेत मैले राजदूतावासलाई निर्देशन दिएको उनको भनाइ छ । 

नेपाली राजदूतावासमा आयोजित नेपाली समुदायका प्रतिनिधिसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानका लागि उनलाई धन्यवाद दिँदै मुलुकको विकासमा थप क्रियाशील रहन अनुरोध गरेको पत्रकार सम्मेलनमा वितरीत प्रेस नोटमा उल्लेख छ । 

सरकारले हालका दिनमा श्रम क्षेत्रको सुधारका लागि अबलम्वन गरेका नीति तथा कार्यक्रमले वैदेशिक रोजगारी थप व्यवस्थित, मर्यादित र भरपर्दो हुने अपेक्षा रहेको आफूले नेपाली समुदायका प्रतिनिधिबीच राखेको प्रधानमन्त्रीको भनाइ थियो । विदेशी भूमिमा दुःख गरी आर्जन गरेको आयलाई वैधानिक बाटोबाट स्वदेश पठाउदा प्राप्त हुने लाभको उपयोग गर्न अनुरोध गरेको उनले जानकारी दिए ।

सोही दिन साँझ नेपाली राजदूतावाससँगको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा दुबई च्याम्बर्सले पहिलोपटक संयुक्त रूपमा दुबईमा आयोजना गरेको नेपाल दुबई बिजनेश समिटलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update