गर्मी बढेपछि दाङका ४ पालिकाले गरे विद्यालय बन्द

काठमाडौँ । अत्यधिक गर्मी बढेपछि दाङका स्थानीय तहहरुले विद्यालय बन्द गर्न थालेका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा र राप्ती गाउँपालिकाले २ दिनदेखि ५ दिनसम्म विद्यालय बन्दको निर्णय गरेका हुन् । 

बिहीबार मात्रै तुलसीपुर उपमहानगरपालिका र गढवाले एक सूचना जारी गर्दै विद्यालय बन्दको  निर्णय गरेका हुन् । 

जसअनुसार तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन् । केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए । दाङको तापक्रम ३९ डिग्री सेल्सियसभन्दा बढी भएपछि उपमहानगरअन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने  निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।

गढवामा २ दिन विदा

यस्तै, दाङकै गढवा गाउँपालिकाले २ दिनका लागि विद्यालय बन्दको निर्णय गरेको छ । पालिकाले बिहीबार एक निर्णय गर्दै जेठ १८ गतेदेखि २० गतेसम्म विद्यालय बन्दको निर्णय गरेको हो । 

पालिकाले एक सूचना जारी गर्दै वर्षे विदाबाट कट्टी हुनेगरि २ दिन विदा दिने निर्णय भएको जनाएको छ । 

441921003_1206939844005128_6235029147939172597_n-1717065448.jpg

सूचनामा भनिएको छ, ‘विगत केही दिनदेखि निरन्तर रुपमा बढेको तापक्रमका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको तथा गर्मीका कारण पठनपाठनमा समेत कठिनाई उत्पन्न भएको भनी शिक्षासँग सम्बद्ध सरोकारवालाहरुबाट विद्यालयको पठनपाठन स्थगित गर्न सुझाव प्राप्त भएकाले जेठ १८ गतेदेखि २० गतेसम्म वर्षे विदाबाट कट्टी हुनेगरी बिदा गरिएको जानकारी गराइन्छ ।’

यस्तै, दाङकै राप्ती गाउँपालिकाले पनि अत्यधिक गर्मी बढेपछि पालिकाभित्रका विद्यालय आज र भोलि दुई दिन बन्द हुने सूचना जारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update