Odapalika - The Fourth Estate - चौथो अंग
सामना बैंकिङ पुरस्कार बीएन घर्तीलाई

काठमाडौँ । सामना बैंकिङ पुरस्कार गुठीले यस वर्षको सामना बैंकिङ पुरस्कार बैंकिङ विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ । उनले लेखेको बैकिङ अनुशासन दिगो विकासका लागि पुस्तकका लागि ७५ हजार रुपैयाँ राशिको रहेको पुरस्कार दिइएको गुठीले जनाएको छ । उक्त पुस्तक बैंकिङ एण्ड इन्स्योरेन्स प्रा.लि.ले प्रकाशन गरेको थियो ।  

पुरस्कार प्रदानका लागि आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घर्तीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । प्रा. डा. विश्वम्भर पोखरेल, प्रा.डा. गोविन्द नेपाल र बैंकर तथा साहित्यकार कृष्ण प्रधान रहेको मूल्यांकन समितिले उक्त पुरस्कार घर्तीलाई प्रदान गर्नका लागि सिफारिस गरेको थियो । 

नेपाल बंगलादेश बैंक, एनआईसी बैंक र किष्ट बैंकमा समेत काम गरेका बीएन घर्ती किष्ट बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत समेत भएर कार्य गरेका थिए ।

किष्ट बैंक प्रभु बैंकमा गाभिएपछि स्वैच्छिक अवकाश लिएका घर्तीले बैंक तथा वित्तीय संस्थाका संचालक समिति, उच्च व्यवस्थापन र अन्य कर्मचारीलाई तालिम दिने र नीति, कार्यबिधि, रणनीतिक योजना आदि बनाउन परामर्श दिने कार्य गर्दै आएका छन् । 

उनको परामर्शमा केही वित्तीय संस्था समस्याग्रस्त अबस्थाबाट बाहिर फर्केका छन् र केहि वित्तीय संस्था मर्जर प्राप्तिमा समेत गएका छन् । 
 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update