 
                                                                    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरणको अभियोग लागेका लामिछानेलाई न्यायाधीश नितिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
अदालतको यो आदेशपछि लामिछाने हिरासतमुक्त भएका छन् । उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि मुक्ता दायर भएको छ । सोही कारण उनलाई प्रहरीले पुन पक्राउ गरी कामठाडौँ जिल्ला अदालतमा पेश गर्ने अनुमान गरिएको थियो ।
तर, यो अनुमान विपरित प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित हुन पाउने गरी छोडेको छ ।
यद्यपि, लामिछाने कामठाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । उनी सम्भवतः भोलि नै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनेछन् ।
लामिछाने विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि संगठित सहकारी ठगी र संगठिन अपराधको अभियोग लागेको छ । यसैकारण उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि बयान र थुनछेक बहस हुनेछ ।
थुनछेक बहसपछि लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन पनि सक्नेछ भने धरौटीमा छोड्न पनि सक्नेछ । धरौटीमा छोड्न आदेश दिएमा उनले धरौटी बुझाउनु पर्नेछ भने थुनामा पठाए कास्कीबाट छुटेपनि काठमाडौँ जिल्ला अदालतको आदेशले थुनामा पर्नेछन् ।
सहकारी ठगी र संगठित अपराध जस्ता कास्की जिल्ला अदालतमा परेको जस्तै अभियोग लागेपनि अन्य जिल्लामा लामिछानेले नयाँ मुद्दाको रुपमा उपस्थित हुनुपर्ने एक कानुन व्यवसायीले बताए । काठमाडौँ जिल्ला अदालतले कास्की जिल्ला अदालतमा परेको मुद्दालाई कुनै आधार नमान्ने उनको भनाइ छ ।
‘कास्की जिल्ला अदालतले धरौटीमा छोडेपनि काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन पनि सक्छ र धरौटीमै छोड्न पनि सक्छ । धरौटीमा छोड्यो भने अदालतले जति धरौटी माग्छ, त्यति धरौटी फेरि बुझाउनु पर्छ । रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा पर्यो भने उनले थुनछेक बहसमा सहभागी हुनुपर्छ र जे आदेश (थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने) हुन्छ, सोही अनुसार गर्नुपर्ने हुन्छ । नयाँ मुद्दा, बेग्लै जाहेरी र बेग्लै विगो तथा बेग्लै अदालत भएको कारण यस्तो हुने हो,’ ती कानुन व्यवसायीले वडापालिकासँग भने ।
कस्तो आदेशले छुटे कास्की जिल्ला अदालतबाट ?
प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।

 
                
            



 
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    