जीवनरक्षा र उद्धारमा केन्द्रित हुन रवि लामिछानेको अपिल, अफवाह नफैलाउन आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकता दिन पार्टी पंक्तिलाई आग्रह गरेका छन्। उनले नेता, सदस्य तथा शुभेच्छुकहरूलाई संयमित र जिम्मेवार ढङ्गले अघि बढ्न अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकहरूलाई जोखिमपूर्ण क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। उनले स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न र विपद् सम्बन्धी जानकारीका लागि आधिकारिक सरकारी निकाय, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेका छन्।

यस संवेदनशील समयमा सामाजिक सञ्जालमा अप्रमाणित सूचना, हल्ला वा अफवाह नफैलाउन उनले सबैलाई आग्रह गरेका छन्। एउटा गलत सूचनाले उद्धार तथा राहत कार्यमा कठिनाइ सिर्जना गर्नुका साथै नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने प्रति उनले सचेत गराएका छन्।

लामिछानेले पार्टीको स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण नेता-कार्यकर्ताहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा खटिन निर्देशन दिएका छन्। विपद्को घडीमा सबैको एउटै प्राथमिकता नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग हुनुपर्ने बताउँदै उनले प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update