काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २८ वटा केन्द्रीय विभागहरू बनाएको छ।
केही दिनअघि चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनले पारित गरेको विधान अनुसार २८ वटा केन्द्रीय विभागहरु बनाइएको हो ।
नयाँ विधान अनुसार सांगठनिक तथा परिचालनअन्तर्गत १२ र सार्वजनिक नीति तथा विषयगत विभागअन्तर्गत १६ वटा विभाग छन् ।
सांगठनिक तथा परिचालन विभागहरूमा नीति तथा विचार, संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार लगायत छन्।
सार्वजनिक नीति तथा विषयगत विभागहरूमा सुशासन तथा राज्य व्यवस्था विभाग, अर्थ, पूर्वाधार जनस्वास्थ्यलगायत छन्।
रास्वपाले पालिका र प्रदेश विभाग पनि बनाएको छ । यद्यपि, प्रदेश संरचनाप्रति रास्वपाको फरक फरक मत सार्वजनिक हुँदै आएको छ । केही नेताहरुले प्रदेश संरचना खारेज गर्ने बताइरहेका छन् भने केही नेताहरुले प्रदेश जरुरी भएको बताइरहेका छन् ।

नयाँ विधान अनुसार पार्टीका केन्द्रीय विभागहरु बनाइए पनि ती विभागका प्रमुख र सदस्यहरु तोकिएको छैन । विभागमा मनोनयन बाँकी रहेकोले कुन विभाग कसले पाउँछ भन्ने अहिले यकिन भइनसकेको नेताहरुले बताएका छन् ।





