Odapalika - The Fourth Estate - चौथो अंग
‘ड्रिम प्रोजेक्ट’का रुपमा अघि बढ्दैछ ३ वटा स्थानीय तहमा पर्ने धौवादी फलाम खानी 

काठमाडौँ । संघीय सरकारले नवलपुर जिल्लाको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिका क्षेत्रमा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाउने भएकाे छ ।

हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिका क्षेत्रमा ४१ वर्ग किलोमिटरमा फलाम रहेको तथ्य फेला परेपछि उत्खननका लागि विस्तृत अध्ययन गरिसकिएको छ । उक्त खानी क्षेत्र पूर्व–पश्चिम राजमार्गको मध्यविन्दुमा पर्छ ।

उत्खनन्को तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् । फलाम खानी सञ्चालन हुन सकेमा देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने भन्दै उनीहरुले यस परियोजनालाई छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेले सबैभन्दा बढी यो खानी हुप्सेकोटका जनताको जीवनसँग जोडिएकाले यथाशक्य सञ्चालन हुनुपर्नेमा स्थानीय सरकार रहेको बताइन् । 

खानी उत्खननको काम सुरु गरिए कम्तीमा ५ हजार जनशक्तिले रोजगारी पाउने र यो आयोजनाले मुलुकको व्यापार घाटा कम गर्ने जनप्रतिनिधिहरुको भनाइ छ । 

नेपाललाई फलाममा आत्मनिर्भर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष चासो व्यक्त गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले धौवादी फलाम खानीलाई सरकारको ‘ड्रिम प्रोजेक्ट’कै रुपमा अगाडि बढाउन पहल थालेको छ । 

खानी उत्खनन गर्न कम्तीमा ५ वर्षको समय लाग्ने भएपछि सरकारले द्रुत गतिमा फलाम खानी सञ्चालनका लागि पहल थालेको हो ।

उद्योगमन्त्री दामोदर भण्डारीले उक्त खानीलाई द्रुत गतिमा सञ्चालनका लागि गर्नुपर्ने विभिन्न विकल्पका लागि परामर्श गरिरहेको बताएका छन् । सरकारले धौवादीलाई विशेष महत्व दिएर काम अगाडि बढाउन प्रक्रिया थालेको मन्त्री भण्डारीले बताए । ‘प्रधानमन्त्रीज्यूले यो परियोजनालाई विशेष महत्वका साथ लिनुभएको छ, फलाम आयातलाई प्रतिस्थापन गर्नका लागि धौवादीलगायत देशका अन्य फलाम खानीलाई उत्खनन गर्न उहाँको विशेष दृढता छ, धौवादी फलाम खानीको काम किन अगाडि बढ्न सकेन र यसका जटिलता समाधानका उपाय के हुन् खोजी गरेर समाधान गर्नुपर्ने छ’, उने भने । 

परियोजनाको पुँजीगत लागत ५१ अर्ब २५ करोड रुपैयाँ लाग्ने प्रक्षेपण गरेको छ । उक्त क्षेत्रमा ९ करोड ९० लाख टन फलाम रहेकामा ९ करोड ६० लाख टन मात्र उत्खनन गर्न सकिने, आइरन÷स्टिल उत्पादन क्रममा उद्योगको डिआरआई (डाइरेक्ट रिड्युस आइरन) प्लान्टबाट करिब ७० मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ ।    

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update