काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेका कारण नेपाल राष्ट्र बैंकमा तनाव सिर्जना भएको छ ।
घिमिरे सवार गाडीले सार्वजनिक विदाको दिन ठक्कर दिएर एक जनाको ज्यान मारेको र एक जनालाई गम्भीर घाइते बनाएको विषयले राष्ट्र बैंकमा फेरि तनाव बढाएको छ ।
घिमिरे नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनी कार्यकारी निर्देशक रहेकै समयमा भएको सो दुर्घटना र सो प्रकरणमा भएको भुक्तानीको विषयले अहिले राष्ट्र बैंकलाई पिरोलेको हो । घिमिरेलाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले नागरिक लगानी कोषको अध्यक्षमा नियुक्त गरेका थिए ।
के थियो घटना ?
घटना २०८१ साल कात्तिक १६ गतेको हो । तिहार मनाउन परिवारसहित नेपाल राष्ट्र बैंकको गाडीमा घर हिडेका नेपाल राष्ट्र बैंकको तत्कालिन कार्यकारी निर्देशक घिमिरेको गाडीले उदयपुरमा एक जना मोटरसाइकल चालकलाई ठक्कर दिएर मारिदिएको थियो ।
उदयपुरको बेल्टार बजार नजिकै पुलछेउमा प्रदेश १, १०५००१प ८८४९ नम्बरको मोटरसाइललाई ठक्कर दिदा मोटरसाइकल चालक तिलक राईको मृत्यू भएको थियो। मोटरसाइकलको पछाडी बस्ने शरण राईको अवस्था पनि गम्भीर रहेको थियो । गम्भीर घाइते भएका शरणको उदयपुरमा उपचार हुन नसकेपछि विराटनगर पठाइएको थियो ।
घटना कात्तिक १६ गते अपरान्हको हो । काठमाडौंबाट पूर्वतर्फ जादै गरेको बागमती प्रदेश ०२६च५०६२ नम्बरको हुण्डाई क्रेटा गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल भने बेल्टारबाट गाईघाटर्फ जादै गरेको थियो ।
सो गाडीमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र उनको परिवार सवार थियो । गाडी नेपाल राष्ट्र बैंककै नाममा छ । कार्यकारी निर्देशक घिमिरे राष्ट्र बैंकको गाडीमा परिवारै लिएर तिहार विदामा रमाइलो मनाउन हिडेका थिए ।
सो गाडीमा सवारी चालक पनि रहेका थिए । प्रहरीले सवारी चालक बासुदेव सापकोटालाई नियन्त्रणमा लिएको थियो ।
नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुलाई सवारी साधन र एक जना चालक सुविधा दिन्छ । चालकको तलब भनेर कार्यकारी निर्देशकहरुले आफैले पैसा लिएर चालकलाई दिने अपारदर्शी व्यवस्था छ भने कार्यकारी निर्देशकहरुले प्रयोग गरेको गाडी अवकास पाउँदा आफ्नो नाममा नामसारी गरेर लान पाउँछन् । गाडी खरिद, बीमा, मर्मतसंभार तथा इन्धन भने राष्ट्र बैंककै खर्चमा हुन्छ ।
कार्यकारी निर्देशक घिमिरे तिहार विदाको समयमा राष्ट्र बैंकले सुविधामा दिएको गाडी लिएर परिवारसहित विदा मनाउन निस्किएका थिए ।
अहिले किन बढ्यो तनाव ?
तत्कालिन कार्यकारी निर्देशक घिमिरेको सवारी साधनले ठक्कर दिएर घाइते बनाएको शरणको विराटनगरको न्यूरो अस्पतालमा उपचार भएको थियो । सो अस्पतालमा उपचार हुन नसकेपछि उनलाई धरानको विपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा ल्याएर उपचार गरिएको थियो । यसरी उपचार गर्दा लागेको खर्च तथा मृतक तिलकको परिवारलाई क्षतिपूर्ति वापत २१ लाख ५० रुपैयाँ नेपाल राष्ट्र बैंकले भुक्तानी गरेको थियो ।
दुर्घटनामा परी क्षति पुगेको नेपाल राष्ट्र बैंकको सो गाडी काठमाडौँ ल्याउन ६५ हजार रुपैयाँ खर्च लागेको थियो भने मर्मत संभारमा ७ लाख २५ हजार रुपैयाँ खर्च भएको थियो । यो खर्चको भुक्तानी पनि नेपाल राष्ट्र बैंकले नै दिएको स्रोतले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको गाडी सार्वजनिक विदा (तिहार विदा) को समयमा तत्कालिन कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेले लिएर गएका थिए । सार्वजनिक विदाको समयमा नेपाल राष्ट्र बैंकको सवारी प्रयोग गरेका घिमिरेले सो गाडी मर्मत संभार र मृतकको परिवारलाई क्षतिपूर्ति तथा घोइतेको उपचार खर्च व्यहोर्नु परेन ।
अहिले नेपाल राष्ट्र बैंकमा उत्पन्न भएको तनाव यही हो । आन्तरिक लेखापरीक्षणमा सो भुक्तानीलाई नजरअन्दाज गरिएको स्रोतले जानकारी दियो । तर, वाह्य लेखा परीक्षकले भने सो भुक्तानी नेपाल राष्ट्र बैंकले गर्न नमिल्ने अडान लिएका बताइन्छ ।
नेपाल राष्ट्र बैंकको लेखापरीक्षणमा वाह्य लेखापरीक्षकको रुपमा महालेखा परीक्षकको कार्यालयले स्वीकृत गरेका लेखापरीक्षकले गर्ने गरेका छन् । एउटै व्यक्तिको नाममा २९ लाख ५० हजार रुपैयाँ बेरुजु देखिएपछि महालेखा परीक्षकको कार्यालयमा सो विषयमा पनि छलफल भएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकका हाकिमको गाडीले तिहारमा एक जना मोटरसाइकल चालक मार्यो
यातायात व्यवस्था विभागलाई प्रश्न– राष्ट्र बैंकको गाडीमा किन रातो नम्बर प्लेट ?
ललिता निवासमा अर्काे काण्डः प्लेट रातो–गाडी सरकारी, होला त जफत ?






